ठाडोभाकाका सर्जक दुराको स्मृतिमा संग्रहालय

     ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा लमजुङ नगरपालिका १० स्थित हाँडीखोला नास्के–वर्धन गाउँमा निर्माण गरिएको संग्रहालय ।

लमजुङ । जीवन्त ठाडोभाका गीतका पुराना सर्जक देउबहादुर दुराको स्मृतिमा उनकै जन्मगाउँमा संग्रहालय निर्माण भएको छ । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा सो स्मृति संग्रहालय बनाएको हो । नवनिर्मित संग्रहालयको बिहीबार नगरप्रमुख रमेशकुमार पाण्डेले शुभारम्भ गर्दै दुराले ठाडोभाकाका माध्यमले सिङ्गो लमजुङलाई चिनाएको बताए ।

ठाडोभाकाका संरक्षण समितिका संरक्षक बुद्धिमान दुरा धम्पुले नेपाली गीत–संगीत क्षेत्रलाई ठूलो गुन लगाएको बताउँदै नवपुस्तालाई उनको बारेमा चिनाउने आधार निर्माण गर्नुपर्ने बताए । दुराका सहपाठी करापुका पञ्चै सुब्बा गुरुङ, नाचमा साथ दिने भैरे रानाभाटलगायत सर्जकलाई पनि भुल्न नहुनेमा उनले जोड दिए । वडाध्यक्ष रामचन्द्र भण्डारीले हाँडीखोलालाई नमूना गाउँका रुपमा चिनाइने र लोकसंस्कृतिको अनुपम गन्तव्यका रुपमा विकास गरिने बताउनुभयो । कार्यक्रममा घाँटु र कृष्णचरित्र नृत्य पनि प्रस्तुत गरिएको थियो ।

विसं १९४७ फागुन ८ गते जन्मिएका देउबहादुर दुराले आफ्नो जीवनकालमा करापुटारको शिवरात्रि मेलालगायत चाडपर्वमा ठाडोभाका गीत गाएरै मनोरञ्जन गराएको स्मृति संग्रहालयका अध्यक्ष पूर्णबहादुर दुराले जानकारी दिनुभयो । हट्टाकट्टा र बलियो शरीर भएका देउबहादुर निकै रसिक स्वभावका भएकाले ठाडोभाका गीत गाएर श्रोतालाई मनोरञ्जन गराउने अग्रजले बताएको अध्यक्ष दुराले बताउनुभयो । करिब ४८ वर्षका उमेरमा विसं १९९५ फागुनमा देउबहादुरको मृत्यु भएको बताइएको छ ।

नगरपालिकाबाट कूल रु १८ लाख सहयोग र करिब रु १० लाख बराबरको जनश्रमदानबाट एक रोपनी क्षेत्रफलमा संग्रहालय निर्माण गरिएको हो । परम्परागत घुमाउने स्वरुपमा खरको छानो छाइएको उक्त संग्रहालयमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह गरिने भएको छ । हालसम्म देउबहादुरको योगदानको खोजी गर्न नसकिएकामा सङ्ग्रहालयकै माध्यमबाट उनका विषयमा थप जानकारी संकलन गरी सर्वसाधारणलाई जानकारी गराइने उक्त प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार संग्रहालय निर्माणका लागि स्थानीयवासी चन्द्रमान, भीमबहादुर, हस्तबहादुर र दलबहादुर दुराले जग्गादान गर्नुभएको थियो । हाँडीखोला क्षेत्रका नास्के, वर्धन, सिम्ले, डाँडागाउँ, गैरीगाउँ, एक्लेवर्धन, कोक्रा गाउँबाट स्थानीयवासीको सहभागिता थियो । सो क्षेत्रमा करिब १६५ घरधुरी रहेकामा अधिकांश दुरा जातिको बसोबास रहेको स्थानीय अगुवा डिलबहादुर दुराले जानकारी दिए ।

प्रतिक्रिया