रुस्लान थ्री स्टार फाइलनमा

झापा । आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार ३–१ ले विजयी रहयो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । खेलको ५९ औँ मिनेटमा अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । मिक्छेन तामाङले प्रहार गरेको कर्नरलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । सुरुवाती अग्रता लिएको १ मिनेट नबित्दै थ्री स्टारले अग्रता दोब्बर पार्यो । अशोक खवासको लामो प्रहार गोलरक्षक मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो ।

खेलको ८२ औँ मिनेटमा कप्तान विक्रम लामाको गोलसँगै थ्री स्टारले जित सुनिश्चित गर्यो । खेल सकिन २ मिनेट बाँकी रहँदा पदम भट्टराईले पेनाल्टीमा गोल गर्दै सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच विजयी टोलीका अनन्त तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया