खोजखबर

सन्तानको पेट भर्न कपाल बेच्ने आमा

‏स्वामीनाथन नटराजन २०७६ फागुन ४ गते १७:३२ मा प्रकाशित

आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो । तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन् । बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमानले आत्महत्या गरे । तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो ।

आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा खानेकुराको जोहो गर्न अब थप सम्भावना बाँकी रहेन भन्ने बोध उनलाई भयो । मृत्यु हुनुअघि सेल्भम र उनका पतिले भारतको दक्षिणी राज्य तालिमनाडुको एउटा इँटाभट्टामा काम गर्थे ।

त्यो कमाइले केवल उनीहरूको साना बालबच्चासहितको परिवार पाल्न मात्रै काफी हुन्थ्यो । उनीहरूले जीवनमा त्योभन्दा बढी चाहे । आफ्नै इँटाभट्टा खोल्नका लागि उनका श्रीमानले ऋण लिए । तर योजना अनुसार सफल भएनन् । निराश भएर गत वर्ष उनले आत्महत्या गरे । त्यसपछि ऋणको पूरा भार सेल्भममाथि आइलाग्यो ।

तीन सन्तानको पालनपोषण मात्रै नभई असफल भएको व्यापारका लागि लिइएको पैसा गर्ने दबाबमा पनि उनी परिन् । ‘काम गर्न जाँदा म दिनको दुई सय रुपैयाँ पाउँछु जुन परिवार चलाउनका लागि पर्याप्त हुँदैन,’ सेल्भमले भनिन्, ‘म इँटाको गह्रुँगो भारी बोक्न सक्दिनँ । ज्वरोले गर्दा म धेरै समय घरमै बसेँ ।’

‘मेरो सात वर्षको छोराले एक दिन स्कुलबाट आएर खानेकुरा माग्यो,’ उनी भन्छिन्, ‘त्यसपछि भोक लाग्यो भनेर रुन थाल्यो ।’ सेल्भमसँग बेचेर पैसा आउने केही थिएन । ‘मसँग १० रुपैयाँ पनि थिएन । केही प्लास्टिकका बाल्टी मात्रै थिए ।’ ‘कपाल किन्ने गरेको एउटा पसल सम्झिएँ,’ उनले भनिन् । ‘म त्यही पसलमा गएँ र १५० रुपैयाँमा पूरै कपाल बेचेँ ।’

त्यो पैसा त्यति धेरै नलाग्न सक्छ । त्यति पैसाले एउटा ठूलो सहरको रेस्टुराँमा केवल एक छाक खाना खान पुग्ला । तर सेल्भमको गाउँमा भने उनले त्यति पैसामा धेरै कुरा किन्न सकिन्छ । ‘मैले तीनजना बच्चाका लागि २० रुपैयाँ पर्ने प्याकेटमा भएको पाकेको भात किनेँ,’ उनले भनिन् ।

आत्महत्या गर्ने सामान किन्न उनी नजिकैको एउटा पसल पुगिन् । तर उनको दुखी अवस्था देखेका पसलेले केही पनि बेचेनन् । घर फर्किएर सेल्भमले आत्महत्याको अर्को उपाय खोज्ने निर्णय गरिन् । तर छिमेकमा रहेकी उनकी बहिनी त्यतिबेला नै आइपुगिन् र सेल्भमलाई आत्महत्या गर्नबाट रोकिन् । त्यसको केही दिनपछि अनपेक्षित रुपमा उनलाई एउटा सहयोग मिल्यो ।

प्रेमाको त्यस्तो अवस्थाबारे बाला मुरुगनले आफ्ना एक साथीबाट थाहा पाए जो त्यही क्षेत्रमा एउटा इँटाभट्टा चलाउँछन् । प्रेमाको अवस्था सुन्ने बितिक्कै मुरुगनले आफ्नो परिवारले गुजारेका कठिन दिनहरू सम्झिए ।

गरिबीले मानिसलाई कुन हदसम्म पु¥याउँछ भन्ने मुरुगनले १० वर्षकै उमेरमा थाहा पाएका थिए। त्यतिबेला उनको परिवारमा पनि खानका लागि केही थिएन । उनकी आमाले चामल किन्नका लागि पुराना किताब र पत्रिकाहरू तौल जोखेर बेचेकी थिइन् । चरम निराशाको अवस्थामा मुरुगनकी आमाले सन्तानसँगै आफू पनि मर्ने निर्णय गरेकी थिइन् ।

तर अन्तिम अवस्थामा उनको मन परिवर्तन भयो । उनका परिवारले उनलाई अस्पताल दौडाए र उनी बाँचिन् । जुन अवस्थामा मुरुगन हुर्किएका थिए अहिले त्यो अवस्थाबाट धेरै माथिको जीवन उनी बाँचिरहेका छन् । वर्षौंको संघर्षपछि अहिले उनी गरिबीको अवस्थामा छैनन् । उनले एउटा कम्प्यूटर ग्राफिक्स केन्द्र सञ्चालन गरिरहेका छन् ।

प्रेमा सेल्भमजस्ता गरिबका लागि ल्याइएका सरकारी योजना उनीहरूसम्म पुग्दैनन् । मुरुगनले सेल्भमलाई भेटेर आफ्नो संघर्षका कथा सुनाए र आशा नमार्न सुझाए । आफ्ना साथी प्रभू र उनले मिलेर प्रेमालाई खानेकुरा किन्न केही पैसा दिए । त्यसपछि सेम्भमको परिवारको अवस्थाबारे सामाजिक सञ्जालमा लेखे ।

‘एक दिनमा मैले एक लाख २० हजार भारतीय रुपैयाँ प्राप्त गरेँ । यो कुरा जब मैले प्रेमा सेल्भमलाई भनेँ उनी निकै खुसी भइन् र यति रकमले त आफ्नो धेरैजसो ऋण तिर्न पुग्ने बताइन्,’ उनले भने । तर प्रेमा सेल्भमको अनुरोधमा त्यसरी पैसा उठाउने काम रोकियो ।

‘उनले आफू काममा फर्किएर बाँकी पैसा तिर्छु भनिन्’ मुरुगनले भने । सेल्भमले छुट्टाछुट्टै साहुलाई गरी अहिले महिनामा ७०० रुपैयाँ तिर्नुपर्छ । जिल्लाका अधिकारीहरूले उनलाई दुध बेच्ने काम व्यवस्था गरिदिने वाचा गरेका छन् ।

उनको अवस्था बिस्तारै सुध्रिदैछ । तर दुखको कुरा भारतमा उनको अवस्था मात्रै फरक खालको होइन । भारतको आर्थिक वृद्धि राम्रो हुँदाहुँदै पनि लाखौं मानिसहरू दुई छाक पेट भर्न संघर्ष गरिरहेका छन् ।
विश्व बैंकका अनुसार चरम गरिबी भएका मानिसहरू धेरै रहेको देशमा भारत दोस्रो नम्बरमा पर्छ । त्यस्ता मानिसहरू दिनमा दुई सय भारतीय रुपैयाँभन्दा कम कमाउँछन् ।

सेल्भमको अर्को अप्ठ्यारो भनेको भारतका करोडौं मानिसहरू जस्तै उनी पढ्न वा लेख्न जान्दिनन् । परिणामस्वरुप भारत सरकारले उनीजस्ता गरिबका लागि ल्याएको योजनाबारे बेखबर छिन् । ‘मलाई आत्महत्या गर्छु भन्ने मेरो निर्णय गलत थियो भन्ने लाग्छ,’ प्रेमा सेल्भमले भनिन् । ‘अब बाँकी ऋण तिर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ । ( बिबिसी)’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय