‘सञ्चारकर्मी सम्मान’ रेडियोकर्मी यशोदा अधिकारीलाई

काठमाडौँ । भारतको ‘सेन्ट्रल ब्यूरो अफ सेकेण्डरी एजुकेसन’ को सम्बन्धनमा सञ्चालित राय स्कूलले यस वर्षको ‘सञ्चारकर्मी सम्मान’ रेडियो नेपालकी संवाददाता यशोदा अधिकारीलाई प्रदान गरिएको छ ।

नक्सालस्थित विद्यालयको नयाँ भवनमा आज आयोजित २०औँ वार्षिकोत्सवमा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले नगद रु ११ हजारसहित पत्रकार अधिकारीलाई सम्मान गरे । पत्रकारिता र साहित्यमा डेढ दशकदेखि कार्यरत उनि सञ्चारिका समूह र शिक्षा पत्रकार समूहमा समेत आबद्ध छन् ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक दयानन्द झासहित उत्कृष्ट विद्यार्थी र कर्मचारीलाई काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजयकुमारले सम्मान गरे । बोर्डको परीक्षामा सो विद्यालयका विद्यार्थीले विभिन्न विषयमा ९५ भन्दा प्रतिप्रतिशत ल्याई हरेक वर्ष उत्कृष्टमध्येको स्थान हासिल गर्दै आएका छन् ।

न्यायाधीश सिन्हाले राय स्कूलको अत्याधुनिक भवन अवलोकन गर्दा आफूले विद्यालय उमेरमा पाल्पाको तानसेनमा बस्ने टेबुल, कुर्सी नपाएर बोरामा बसेर पढेको स्मरण गर्दै अहिलेको समयमा विद्यार्थीले सुविधासम्पन्न वातावरणमा पढ्न पाएको बताए । उनले विद्यार्थीलाई आत्मविश्वासयुक्त भई राम्रो नागरिक बन्न आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सामुदायिक विद्यालयलाई पनि उत्कृष्ट बनाउन लाग्नुपर्ने र अशल शिक्षा लिएर विद्यार्थीले देशकै लागि केही गर्नुपर्नेमा जोड दिए । सो स्कूलका प्रिन्सिपल केपी पाण्डेले आफूहरुले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि आरम्भरदेखि नै काम गर्दै आएको बताए ।

प्रतिक्रिया