अमेरिकामाथि नेपालको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको छ ।

अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजय लक्ष्य नेपालले ५ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा २ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे । त्यस्तै पारस खड्का १२ बलमा ३ चौका र १ छक्कासहित २० रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए । नेपालको ओडीआईमा यो सर्वाधिक छिटो जित हात पारेको हो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटिएको थियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुसन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिंदै ४ विकेट लिए ।

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शून्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिँदै शून्यमा पेभिलिएनको बाटो देखाएका थिए ।

सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे । सुसनले आफ्नो पहिलो बलमै मार्सललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए । सुसनले सातौँ ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए ।

आठौँ ओभरको दोस्रो बलमा सन्दीपले मोनन्क पटेललाई ४ रनमा बोल्ड आउट गरे । सन्दीपले यसै ओभरको पाँचौँ बलमा निसरग पटेललाई २ रनमा बोल्ड आउट गरेपछि अमेरिका संकटमा परेको हो । नवौँ ओभरको तेस्रो बलमा सुसनले आरोन जोन्सलाई ४ रनम बोल्ड आउट गरे । सन्दीपले १० औँ ओभरको पाँचाँै बलमा तिमिल पटेललाई १ रनमा एलबिडब्लू आउट गरे ।

११ औँ ओभरको पहिलो बलमै सुसनले क्यामरन स्टिभेन्सनलाई १ रनमा बोल्ड आउट गरे । भारीले अन्तिम बलमा रस्टी थेरनलाई शून्यमा एलबी डब्यू आउट गरे । सन्दीपले १२ औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसबाट ४ रनमा क्याच गराउँदै आफ्नो ओडीआई करिअरमा पहिलोपटक पाँच विकेट पूरा गरे । उनी ओडीआईमा नेपालबाट पाँच विकेट पूरा गर्ने दोस्रो खेलाडी हुन् । यसअघि युएईसँगको दोस्रो एक दिवसीय खेलमा सोमपाल कामीले लिएका थिए ।

प्रतिक्रिया