दादुराको खोपसँगै पोलियो थोपा खुवाइँदै

विराटनगर । मोरङका एक लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौँ दादुरा रुबेला खोप अभियान आगामी फागुन र चैत महिनामा सञ्चालन हुने भएको हो ।

प्रदेश–१ का जिल्लामा फागुनमा खोप अभियान सञ्चालन हुँदै छ । ६ देखि १४ फागुनसम्म चल्ने अभियानमा मोरङका १ लाख ९ हजार ९ सय २९ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

विराटनगरमा बुधबार समन्वय समिति, सरोकारवाला व्यक्ति र सञ्चारकर्मीबीचको अतरक्रिया कार्यक्रममा प्रमुख बस्नेतले सो जानकारी दिएका हुन् । दादुरा रुबेला निरुपणका लागि अभियान चलाइएको उनले बताए । सन् २०२३ भित्रमा नेपालबाट दादुरा रुबेला निरुपण भएको घोषणा गर्ने सरकारको तयारी छ । सन् २०२० भित्रमा घोषणा गर्ने लक्ष्य राखिए पनि पूरा नभएपछि सन् २०२३ भित्रमा नियन्त्रण गर्ने सरकारी तयारी रहेको बताइएको छ । नेपालमा दादुरा रुबेला निरुपण भए पनि नियन्त्रण भइनसकेको उनले बताए ।

सन् २०१९ को तथ्यांकअनुसार प्रदेश–१ मा ३२ जनामा दादुरा भएको पाइएको थियो । मोरङमा मात्रै १३ जनामा दादुरा भएको तथ्यांकले देखाएको छ । मोरङको सुनवर्षी र रतुवामाईमा दादुरा भएको पाइएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । सन् २०१९ को तथ्यांक अनुसार देशभरिका १ हजार ६ सय ४५ मा गरिएको परीक्षणमा ३ सय ६६ जनामा दादुरा भएको पाइएको थियो । दादुराबाट बच्न बच्चा नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिनुपर्ने हुन्छ ।

दादुराको खोपसँगै मोरङमा पोलियो थोपा पनि खुवाइँदै छ । अभियानअन्तर्गत जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाइने कार्यक्रम छ । ६ देखि १४ फागुनसम्म मोरङका आठ वटा स्थानीय तहका ४१ हजार १ सय ७२ बालबालिका र १६ देखि २४ फागुनसम्म विराटनगर महानगरपालिका सहितका नौ वटा स्थानीय तहका ४७ हजार ८ सय ४६ बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान रहेको स्वाथ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले बताए ।

उनकाअनुसार पहिलो चरणमा कानेपोखरी, पथरीशनिश्चरे, रतुवामाई, कटहरी, धनपालथान, जहदा र रंगेलीमा पोलियोथोपा खुवाइने कार्यक्रम छ । दोस्रो चरणमा विराटनगर, बुढीगंगा, ग्रामथान, बेलबारी, केराबारी, सुन्दरहरैचा, लेटाङ, उर्लाबारी र मिक्लाजुङमा पोलियोथोपा खुवाइने स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया