कहालीलाग्दो घटना

ललितपुरको सानेपास्थित निकै फराकिलो कम्पाउन्डसहितको अलिसान बंगलाभित्र गत सोमबार बिहान निकै कहालीलाग्दो दुर्घटना भयो । बंगलाकी मालिक्नी ४९ वर्षीया मुना कार्कीलाई उनकै श्रीमान्ले मृत अवस्थामा फेला पारे । साथै सोही बंगलामा विगत ९ वर्षदेखि घरेलु कामदारका रूपमा रहेका २२ वर्षीय विजय चौधरी पनि मृत अवस्थामा फेला परे । घरेलु कामदार चौधरीले मालिक्नी मुनालाई कुटपीट गरी मारेको र आँफूले पासो लगाएर आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घटना ज्यादै रहस्यमय छ । मृतक कार्कीका श्रीमान् अर्जुन कार्की वरिष्ठ इन्जिनियर हुन् ।

उनी लामो समय सरकारी सेवामा रही सचिवसम्म भएर केही वर्षअघि आवकास लिएका थिए । दोलखाको जिरीस्थित सामान्य किसान परिवारमा जन्मेका कार्कीले सरकारी सेवामा प्रवेश गरेको छोटो अवधिमै आफ्नो आर्थिक हैसियतलाई निकै माथि पु¥याएका थिए । तर यो आर्थिक प्रगति नै उनका लागि अभिशाप बन्यो । उनका दुई छोरी अमेरिकामा छन् । श्रीमान् श्रीमती र १२ वर्षको छोराका साथ निकै अग्लो पर्खालले घेरेको फराकिलो कम्पाउन्डमा उनी बस्छन् । घरेलु कामदारले पिर्काले कुटिरहँदा उनी निकै चिच्याइन् होला तर फराकिलो कम्पान्ड र अग्लो पर्खाल भएका कारण त्यो आवाज छिमेकीहरूको कानसम्म पुगेन । हार गुहारसमेत नपाउने अवस्था बन्यो ।

यो घटना आफैँमा अत्यन्त पीडादायी , मार्मिक र विभत्स हो । जे हुनु भइसक्यो । यस्ता घटनाबाट अरूले पाठ सिक्नु जरुरी छ । पहिलो कुरा त राज्यको नीति निर्माण तथा कार्यान्यवन गर्ने तहमा बस्नेहरूले बालश्रमलाई प्रोत्साहन दिएका रहेछन् भन्ने उजागर भएको छ । अर्को कुरा आलिसान बंगला , फराकिलो कम्पान्ड र अग्लो पर्खालले मात्रै सुरक्षा दिन सक्दो रहेनछ भन्ने कुरा उजागर भएको छ । यो घटना पहिलो र आश्चर्यजनक पनि होइन । अलिसान बंगलाभित्र आफ्नै नोकरद्वारा अकालमा ज्यान गुमाउनेहरूको संख्या राजधानी काठमाडौंमा उल्लेख्य छ ।

केही वर्ष अघि ललितपुरमा इसाई पादरी ग्याफ्नेको आफ्नै नोकरद्वारा हत्या भएको थियो । २०७५ भदौमा फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भयो । हत्यारा सानुकान्छा तामाङ झाको घरमा १५ वर्षदेखि कार्यरत थिए । २०७४ साउनमा बूढानीलकण्ठ–१ मा पनि घरेलु कामदारकै योजनामा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । हत्यामा संलग्न थिए, नुवाकोट ककनी–२ का ३७ वर्षीय सुदाम लामिछाने ।

पूर्वडिआइजीपी हेमन्त मल्लका अनुसार आफ्नै घरका कामदारद्वारा मालिकको हत्या हुनुमा मुख्य कारण आर्थिक नै देखिने गरेको छ । त्यसपछि यौन, लागुऔषध र मनोवैज्ञानिक कारण देखिने गरेका छन् । यति ठूलो अपराध गर्ने हदसम्म मान्छे हत्पत्ति पुग्दैन । कि त दिमाग खुस्कनु प¥यो, नभए आपराधिक माहोलमा हुर्केको हुनु प¥यो । राज्यको जिम्मेवार तहमा बसेको व्याक्तिका घरमा बाल्यकालदेखि नै बसेको किशोर हत्या जस्तो जघन्य अपराधमा संलग्न हुनु भनेको गम्भीर कुरा हो । उसले असल संस्कार पाएन भनेर कसरी अनुमान गर्ने ? सम्भव भएसम्म घरेलु कामदार राख्न नहुने हाम्रो संस्कार हो ।

तर, अनिवार्य आवश्यकताका लागिभन्दा पनि सौखका लागि, अझ समाजमा रवाफ देखाउनका लागि घरेलु कामदार राख्ने प्रचलन बढेको छ । गरिब गुरुवाले रोजगारी पाउने भएकोले घरेलु कामदार राख्न कानुनद्वारा निषेध गरिएको छैन । बालश्रम प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था छ । तर, पहुँचमा हुनेहरूले स्कुल जाने उमेरका बालबालिकालाई घरेलु श्रमिकका रूपमा राखेका छन् । एकातिर राज्यले उमेर पुगेका कुनै पनि बालबालिका विद्यालय जाने अवसरबाट बञ्चित नहोउन भनेर अभियान नै सुरु गरेको छ अर्कातिर सरकारको नीति कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा बसेका कतिपयले विद्यालय जानबाट बञ्चित गराइ आफ्नै घरमा बालश्रमिक राखेका छन् । पूर्व सचिव कार्की त उदाहरण मात्रै हुन् , उनी जस्ता सयौँ छन् हाम्रो मुलुकमा ।

प्रतिक्रिया