भूषालले ल्याइन् ‘नूतन शैली’

काठमाडौं । गीतकार नूतन भूषालको एल्बम ‘नूतन शैली’ सार्वजनिक गरिएको छ । राजधानीमा गीतकार प्रा‍‍. डा. कृष्णहरि बरालले उक्त एल्बमको सार्वजनिक गरे । शुभकामना मिडिया सोलुसनले आयोजना गरेको कार्यक्रममा डा।बरालले गीति लेखनमा पहिला केटाले केटीलाई सुनाउने गीत लेख्ने गरिन्थ्यो भने गीतकार भूषालले भने केटीले सुनाउने र केटाले सुन्ने खालका गीतको निर्माण भएको बताए । उनले भूषालको गीतिलेखनले फरकपन दिएको जिकिर गरे ।

गीतकार भूषालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छचल्किएका भावना र संवेदनालाई गीतमार्फत् उजागर गरेको बताइन् । उनले नूतन शैलीमार्फत् आधुनिक संगीतमा एउटा इँटा थप्ने काम गरेको जनाउँदै संगीतकार सुनिल मास्केको सहयोगले एल्बम निकालेको सुनाइन् । संगीतकार राजु सिंहले सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताए । त्यस्तै गीतकार भुसालको लेखनले आफू पनि लोभिएको उनले बताए । त्यस्तै गीतकार डा।राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नूतनको लेखनप्रति आफूलाई मोह जागेको धारणा व्यक्त गरे ।

गीतकार भूषालकी आमा रामकुमारी भूषालको सभापतित्व रहेको थियो । उक्त कार्यक्रममा गीतकार डा।राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंह विशेष अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गीतकार भुसालकी आमा रामकुमारी भुसालले आफूले छोरीको भावना बुझेर स्टेज दिन नसकेको सुनाइन् । उनले समय अनुसार काममा ध्यान दिइयो भने सफलता हासिल गर्न सहज हुने बताइन् ।कार्यक्रममा भमराको ‘भुनभुन सुन्छु’ र ‘थाहा छैन के हुन्छ’ गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

भिडियोलाई युवराज वाइवा र मदन खड्काले निर्देशन गरेका छन् । जसमा अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापालगायतका कलाकारको अभिनय छ । ‘नूतन शैली’ मा गीतकार नूतनको एकल शब्द एवं संगीतकार सुनिल मास्केको संगीतमा रहेको छ । एल्बममा भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की, तिम्रो साथभन्दा प्यारोलगायतका पाँचवटा गीत समावेश गरिएको छ । जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूर्णिमा लामाले आवाज दिएका छन् । गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रतिक्रिया