मुलुक टाट हुने संकेत

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नाराका साथ केपी शर्मा ओलीको नेतृत्वमा करिब दुईतिहाइ बहुमतको सकार बनेको दुई वर्ष पुग्नै लागेको छ । दुई वर्ष भनेको करिब ४० प्रतिशत समय हो । यो ४० प्रतिशत समयअवधि भित्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार हुने लक्षण दिखियो त ? अहँ, कत्ति पनि देखिएको छैन । बरू घडीको सुई उल्टो घुमिरहेको पो हो कि ? भन्ने संकेत देखिएको छ । समृद्ध नेपाल र सुखी नेपाली’ को नारा पुरा हुन मुलुकमा उत्पादन बढ्नु पर्छ, रोजगारीका क्षेत्रहरू वृद्धि हुनुपर्छ, विकास निर्माणले तीव्रता पाउनुपर्छ, उद्योग धन्दाहरू फस्टाउनुपर्छ, लगानीका लागि निजी क्षेत्र उत्साहित हुनुपर्छ, राजस्व वृद्धि हुनुपर्छ, भ्रष्टाचार नियन्त्रण पर्छ, अत्यावश्यकीय सेवा जनताले सहज रूपमा पाउनुपर्छ । तर, यी सबै इन्डिकेटरहरू लगातार घटिरहेका छन् । चाल आर्थिक वर्षमा लक्ष्य भन्दा करिब दुई खर्ब रूपैया“ कम राजस्व संकलन हुने संकेत देखिएको छ । भौतिक पूर्वाधार विकासका आयोजनाहरूको निर्माण गति झन झन् खस्किइरहेको छ । कृषि तथा औद्योगिक उत्पादन घटेको छ । रोजगारी वृद्धि हुन सकेको छैन । सामाजिक सुरक्षा कोषको अवधारणा कार्यान्वयनमा समस्या देखिएको छ । विदेशी पर्यटकको आगमन घटेको छ । नीतिगत भ्रष्टाचारका काण्डमा वृद्धि आएको छ । जनताको थाप्लोमा करको रकम वृद्धि गरिएको छ । शिक्षा तथा स्वास्थ्यमा सर्वसाधरणको पहुँच वृद्धि हुन सकेको छैन । नेप्से परिसूचक ओरालो लागेको लागै छ ।

यही ढंगले मुलुक अघि बढ्ने हो भने छिटै नै अर्थतन्त्र टाट पल्टिने प्रक्षेपण विज्ञहरूले गरेका छन् । सरकार बेलैमा होसियार हुनु जरूरी छ । नेपाल आत्मनिर्भर हुँदै गएका वस्तु उत्पादन गर्ने उद्योगहरूमै समस्या देखिनु भनेको ठूलो संकट ल्याउने संकेत हो । ओली सरकारले नेतृत्व संहाल्दै गर्दा मुलुक पोल्ट्री, सिमेन्ट, छड, मदिरा र चिनी उत्पादनमा आत्मानिर्भर भइसकेको थियो । मुलुकको माग धान्न सिमेन्ट आयात गर्नुपर्ने बाध्यता हटेको थियो । फलामे डण्डी उत्पादनमा पनि नेपाल आत्मानिर्भर भइसकेको थियो । तर विकास निर्माणका कामले गति लिन नसक्दा ६ महिनायता सिमेन्ट र रड उद्योगहरूले आफ्ना उत्पादन आधा कटौती गरिसेका छन् । नेपाल कुखुरा तथा अण्डामा पनि आत्मनिर्भर छ । करिब एक खर्ब रूपैया“ लगानी रहेको यो क्षेत्र अहिले संकटमा छ । उदाहरणका लागि यही पुस पहिलो साताभर ह्याचरी उद्योग संघको आह्वानमा ६० लाख जिउ“दा चल्ला मारिए । किसानले समयमै मल र बिउ नपाएका कारण यस वर्ष धानको उत्पादन घटेको हो । आफ्नो उत्पादन बिक्री नहुँदा उखु किसानहरू आत्माहत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

सरकारको नीति गलत नहोला नीति कार्यन्वयन गराउने संयन्त्र गलत छ भन्ने कुरा करिब करिब पुष्टि भइसकेको छ । सरकारले विकास खर्च र आन्तरिक उत्पादन बढाउन भन्दा कर प्रणालीलाई ‘माइक्रोम्यानेज’ गर्न लाग्दा उठेकै कर सदुपयोग नहुने अवस्था आएको हो । सरकार चिनी कारखाना संचालन हुने वातावरण बनाउनभन्दा रक्सी उद्योग खोल्ने लाईसेन्स बाँड्न उत्साही भयो । प्रधानमन्त्री ओलीले कम्तीमा आफ्नो गृहजिल्ला झापामा नमुना कृषि फार्म स्थापना गर्लान् भन्ने अनुमान धेरैको थियो तर दमकमा अबौं रूपैया“ खर्च गरेर भ्यु टावर बनाइ“दै छ । यसैको देखासिखी अन्य पालिकाहरूले पनि गरिरहेका छन् । जनताको रोजगारीका अवसर सिर्जना हुने कार्यक्रमभन्दा पनि प्रचारबाजीका काममा मन्त्रीहरू आनन्दित छन् । कम्युनिस्ट पार्टीको सरकार हुँदा जनताले आ“फूलाई बलियो भएको महशुस गर्नु पर्ने थियो, तर जनताले आफूलाई कमजोर भएको महसुस गरिरहेका छन् । जनताको मुक्तिको लागि लडेका नेताहरूले चलाएको सरकार छ । तर यस्तो शुभ अवसरमा देशका किसानले आफ्नै पसिना बगाएर उत्पादन गरेको उखु बेचेर मूल्य लिन आन्दोलन गर्नुपर्ने अवस्था छ । दूध किसानले दूध पोखेर फाल्नुपर्ने अवस्था छ । मजदुरका समस्या यथावत छन् । राहत शिक्षकले रोएर बाँच्नुपरेको छ । गरिबले काम नपाउने स्थिती कायम छ र जीवन खोज्दै मुग्लान हिँड्नेको संख्या बढेको बढ्यै छ । जनताको नाममा प्राप्त सत्ता, शक्ति र संगठन समेत केवल निजी स्वार्थका लागि दुपयोग भइरहेको छ । यो समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने संकेत पटक्कै होइन ।

प्रतिक्रिया