दुई विद्यालय भवनको शिलान्यास

मुगु । जिल्लाको सदरमुकाम गमगढी नजिकै रहेका दुई विद्यालयमा आइतवार एक कार्यक्रमबीच विद्यालय भवनको शिलान्यास गरिएको छ । करौडौँ लगानीमा छायानाथ रारा नगरपालिका–२ चैना र नगरपालिकाकै वडा–५ कार्कीवाडामा रहेका दुई विद्यालयको शिल्यानास गरिएको हो ।

छाया नेपालको आर्थिक सहयोग, छायानाथ रारा नगरपालिकाको लागत साझेदारी तथा हिरिसडेक मुगुको सहजीकरणमा वडा–२ मा रहेको बालमन्दिर प्राथमिक विद्यालय चैनको दृष्टिविहीन बालबालिकाको छात्रावास र वडा–५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्कीवाडाको विद्यालय भवनको शिलान्यास गरिएको हिरिस्डेक मुगुले जनाएको छ ।

बालमन्दिर प्राथमिक विद्यालय चैनका दृष्टिविहीन बालवालिकाको ४ कोठे छात्रावास भवनको लागि छायाँ नेपालको ८५ लाख ८४ हजार ७ सय १० र छायानाथ रारा नगरपालिकाको लागत साझेदारी २२ लाख ३२ हजार गरी १ करोड ८ लाख १६ हजार ७ सय १० मा पक्की विद्यालय भवन निर्माण गरिने सहजीकरणको जिम्मा लिइएको संस्था हिरिस्डेक मुगुका कार्यकारी निर्देशक मीन रावलले बताए ।

उनका अनुसार त्यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्कीवाडामा पनि छाया नेपालको ५९ लाख ५० हजार ६ सय ७४ र छायानाथ रारा नगरपालिकाको लागत साझेदारी १३ लाख ९२ हजार गरी ७३ लाख ४२ हजार ६ सय ७४ को लागतमा पक्की भवन भवन निर्माण हुने निर्देशक रावलको भनाइ छ । विद्यालय भवनमा ट्वाइलेट बाथरुमको पनि व्यवस्थापन गरिनेछ ।

शिल्यानास कार्यक्रममा बोल्दै छाया नेपालका केन्द्रीय कोषाध्यक्ष पुस्कर आचार्यले छाया नेपालले शिक्षा, स्वास्थ्य, वातावरण लगायत अन्य क्षेत्रमा काम गर्दे आइरहेको बताए । विशेष गरी दृष्टिविहीन बालबालिकाका लागि सहयोग गर्न पाउँदा खुसी भएको बताए ।

त्यस्तै छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले कर्णाली प्रदेशको हिमाली विकट जिल्ला मुगुमा आएर शिक्षाबाट वञ्चित भएका दृष्टिविहीन बालबालिकालगायत विद्यार्थीलाई भवन निर्माणको सहयोग र सहकार्य गर्ने संस्था छाया नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै गरी काम गर्ने अवसर जुटाउन आग्रह गरे ।

विद्यालय भवन निर्माणका लागि छाया नेपालको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साभेदारीमा भवन निर्माण हुन लागेको नगरप्रमुख शाहीको भनाइ छ । शिलान्यास गरिएका दुई विद्यालयका भवनहरू आउँदो वैशाख महिनासम्म निर्माण कार्य सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने प्राविधिक सहयोग गरी सहजीकरणको जिम्मा पाएको संस्था हिरिस्डेक मुगुले जनाएको छ ।

प्रतिक्रिया