फेदीखोलामा एक शिक्षक एक ल्यापटप

स्याङ्जा । जिल्लाको फेदीखोला गाउँपालिकाले शिक्षक शिक्षिकालाई प्रविधिसँग जोड्दै एक शिक्षक एक ल्यापटप कार्यक्रमको सुरुआत गरेको छ । ‘हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’ भन्ने मूल नाराको साथ फेदीखोला गाउँपालिकाले शैक्षिक सुधार गर्न शिक्षकलाई प्रविधिसँग जोडेको हो ।

शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको पालिकाले शिक्षकको क्षमता विकास गर्दै आधुनिक शिक्षण विधिलाई अबलम्बन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख घनश्याम सुबेदीले बताए । उनले भने, ‘विद्यार्थीको रुची र पाठ्यक्रमको मागअनुसार अडियोभिडियो प्रविधिलाई समेत यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

गाउँपालिकाभित्र रहेका २४ विद्यालयअन्तर्गत पहिलो चरणमा विनियोजित रकम मध्ये १५ लाख पालिकाले बेहोर्नेछ । बाँकी रकम विद्यालय र शिक्षकको सहभागिता हुने गरी साझेदारी कार्यक्रममार्फत ‘एक शिक्षक एक ल्यापटप’ प्रदान गरिएको सुवेदीले बताए ।

पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालय र १६ आधारभूत विद्यालयमा निःशुल्क भेन्डिङ मेसिनमार्फत सेनेटरी प्याड, विद्यार्थीसँग अध्यक्ष कार्यक्रम उदाहरणीय बनेका छन् । बिद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विद्यार्थीको गुनासो अध्यक्षले सुन्ने र गुनासोअनुसार आगामी कार्यक्रम तय गर्ने भएकाले यहाँको शैक्षिक गतिविधि निकै उदाहरणीय बनेको मैदान माध्यमिक विद्यालयका प्रअ ठमनारायण लामिछानेले बताए ।

पछिल्लो समय शिक्षकको क्षमता विकास गर्ने र प्रविधिसँग जोड्ने यो कार्यक्रम निकै प्रशंसनीय रहेको उनले बताए । परम्परागत शिक्षण विधिलाई परिमार्जन गर्न आवश्यक रहेको बताउँदै लामिछानेले भने, ‘हिजोको शिक्षण प्रणालीलाई प्रविधिले चुनौती दिएको छ । शिक्षक प्रविधिमैत्री हुन नसके विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्दैनन् ।’

विद्यालय, शिक्षक र स्थानीय सरकारको साझेदारी कार्यक्रममार्फत ल्यापटप वितरण गरिएको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए । निःसर्ततर्फ शिक्षा क्षेत्रमा १ करोड ८३ लाख १६ हजार विनियोजित गरिएको गुरुङको भनाइ छ ।

पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालय र १६ आधारभूत विद्यालयका १ सय १५ शिक्षकशिक्षिकालाई पहिलो चरणमा ल्यापटप वितरण गरिएको हो । धुलोरहित विद्यालय स्थापना गर्ने उद्देश्यले सबै विद्यालयमा सेतो पाटीको सुरुआत गरेको पालिकाले, यस वर्ष सबै विद्यालयमा भेन्डिङ मेसिनमार्फत सेनेटरी प्याड निकाल्न सकिने सुविधासमेत प्रदान गरेको छ ।

बाल शिक्षकको लागि प्रोत्सहानस्वरूप मासिक एक हजार र संघीय सरकारमार्फत मासिक ६ हजार प्रदान गर्दै आएको छ । यसैगरी पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयमा ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत विद्यालयले तलब भत्ता बेहोर्ने गरी एक माध्यमिक तह तृतीय श्रेणीको आइटी शिक्षकको नियुक्ती गरेको छ । यहाँ रहेका २४ वटै सामुदायिक विद्यालयमा कालोपाटी विस्थापित गर्दै सेतोपाटीको सुरुआत गरिएको छ ।

सामाजिक विकाश समितिको अध्यक्ष ज्ञानुमाया पौडेलको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा आइटी शाखा प्रमुख दीपक ओझाले स्वागत गरेका थिए भने शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया