अस्पताल नजिकै अस्पताल प्रमुखको क्लिनिक

लहान । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुररका स्मारक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुनीलप्रसाद कुशवाहाले आफू कार्यरत अस्पताल नजिकै निजी क्लिनिक सञ्चालन गरेका छन् ।

मेसु कुशवाहले अस्पतालबाट पश्चिम दिशामा करिब सय मिटरको दुरीमा श्रेया पोलिक्लिनिक एन्ड हेल्थ केयर सेन्टर प्रालि नामक निजी क्लिनिक सञ्चालन गरेका हुन् । निजी क्लिनिकको बोर्डसँगै मेसु कुशवाहले आफ्नो नाम पनि ठूलो अक्षरमा लेखेर प्रचार गरेका छन् ।

उनी कार्यरत सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई उनले आफ्नो निजी अस्पतालमा रिफर गर्ने गरेको पाइएको स्थानीयहरू बताउँछन् । ‘उनको निजी क्लिनिकमा बिरामीको सधँै भिड लाग्ने गरेको छ’, एक स्थानीयले भने, ‘उनी कार्यरत सरकारी अस्पतालमा उपचार गराउन आएका बिरामीलाई उनले आफ्नो निजी क्लिनिकमा उपचार गराउन बाध्य बनाउने गरेका छन् ।’

‘सरकारी अस्पतालमा कार्यरत डाक्टरले आफू कार्यरत अस्पताल नजिकै निजी क्लिनिक सञ्चालन गर्नु गैरकानुनी हो’, सिरहा–१ (क) का प्रदेश सांसद लगनलाल चौधरीले भने, ‘मेसु कुशवाहलाई कारबाहीका लागि प्रदेशसभामा आवाज उठाउँछु ।’ लहान नगरपालिकाका मेयर मुन्नि साहले मेडिकल सुपरिटेन्डेन्ट कुशवाहालाई कारबाहीका लागि प्रदेश सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेको बताउँछन् । मेयर साह भन्छन्, ‘मेसु कुशवाहलाई कारबाही गर्न प्रदेश सरकारले किन चासो लिएको छैन मलाई अचम्म लागिरहेको छ ।’

उनी कार्यरत रामकुमार सारडा उमाप्रसाद मुररका स्मारक अस्पताल भने फोहोरको डंगुरले दुर्गन्धित बनेको छ भने नागरिक वडापत्र लगायतका अस्पतालको सेवासम्बन्धी बोर्डहरू कामै नलाग्ने अवस्थामा छन् । रंगरोगन हुन नसक्दा ५० शैयाको उक्त अस्पतालको भवन भुत बंगलामा परिणत हुँदै गएको छ । यस विषयमा मेसु कुशवाहसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

प्रतिक्रिया