पीत पत्रकारिता

सरकारले प्रेस काउन्सिलसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्दा प्रेस स्वतन्त्रतामाथि अनावश्यक नियन्त्रण गर्ने र पत्रकारहरूमाथि कडा सजायका प्रावधानहरू समेतको हामीले विरोध गरेका थियौँ र हाम्रो त्यो मत अहिले पनि कायम छ । तर, त्यसको अर्थ वा प्रेसको स्वतन्त्रताको अर्थ झुटा र कपोलकल्पित समाचारहरू प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमाथि आक्रमण गर्नको लागि छुट हुनुपर्दछ भन्ने होइन ।

त्यस प्रकारका गतिविधिहरूमाथि पूरै नियन्त्रण हुनुपर्छ र त्यसको लागि उनीहरूमाथि आवश्यक र कडा सजाय हुनुपर्छ भन्ने हाम्रो स्पष्ट र दृढ मत छ । नेपालमा पत्रपत्रिकाहरूको उच्छृंखल कार्यविधिमाथि नियन्त्रण गर्न प्रेस काउन्सिलको पनि स्थापना गरिएको छ । तर, त्यसले पीत पत्रकारितामाथि पूरै नियन्त्रण गर्न सकेको देखिन्न ।

नेपालमा पहिले ‘आरती’ नामको एउटा साप्ताहिक प्रकाशित हुन्थ्यो । त्यसले बारम्बार मैले दलाईलामाबाट पैसा लिएर चीनको विरोध गरेको समाचार प्रकाशित गर्दथ्यो । चीनले दक्षिणपन्थी संशोधनवादी बाटो समातेपछि हामीले त्यसको विरोध गरेका थियौँ । त्यो सैद्धान्तिक विरोधलाई त्यसले दलाई लामासित लगेर जोडेको थियो ।

अन्य पत्रपत्रिकाहरूले पनि मेरा विरुद्ध त्यस प्रकारका निराधार समाचारहरू प्रकाशित गरेको लामो सूची छ । अहिले म ती सबैको चर्चा गर्नेपट्टि लाग्दिन । अहिले मैले यो लेखमा हालसालै मेरा विरुद्ध प्रकाशित भएका केही झुठा समाचारहरूको चर्चा गर्नेसम्म मात्र आफूलाई सीमित राख्नेछु ।

हाम्रो पार्टीको आठौँ महाधिवेशनको तयारी र त्यसपछि पनि एउटा समाचार पत्रपत्रिका वा अनलाइनहरूमा व्यापकरूपले उठ्ने गरेको छ र त्यो समाचार अहिलेसम्म पनि नयाँनयाँ रूपमा दोहोरिने गरेको छ । त्यो समाचारको सारतत्व हो ः दुर्गालाई मन्त्री बनाउन मैले प्रधानमन्त्री ओली वा नेकपाका अध्यक्ष प्रचण्ड कहाँ दौडधुप गरेको छु भन्ने । अब त्यो झुटा समाचारमा एउटा कुरा थपिएको छ ः मैले उनलाई उपसभामुख बनाउनको लागि खुमलटारमा वा प्रचण्डकहाँ दौडधुप गरेको छु भन्ने ।

त्यो झुटा समाचारको दौड यहाँसम्म पुग्यो कि युनाइटेड पोस्ट साप्ताहिकले मैले भारतीय राजदूतसँग दुर्गालाई मन्त्री बनाउन सहयोग गर्न अनुरोध गरेको समाचार पनि प्रकाशित गरेको थियो । उनीसित त्यो गोप्य वार्ता कहाँभयो ? त्यो सन्दर्भ पनि अत्यन्त हास्यास्पद प्रकारको छ । एउटा विवाह भोजमा, जहाँ हजारभन्दा बढी मानिसहरू उपस्थित थिए, उनीसित देखादेख भएको थियो । त्यति धेरै मानिसहरू उपस्थित भएको विवाह भोजमा कुनै राजदूतसित दुई घण्टासम्म गोप्य वार्ता हुनु के सम्भव थियो ?

उक्त झुटा समाचारबारे आवश्यक छानबिन र त्यसका लागि आवश्यक कारबाही गर्न हाम्रो पार्टीका प्रवक्ता क. रामप्रकास पुरीले प्रेस काउन्सिलमा आवेदन दिनुभएको थियो । त्यही सिलसिलामा दुर्गाले पनि प्रेस काउन्सिलमा आवेदन दिएकी थिइन् । पछि उनले काठमाडौंको जिल्ला आदालतमा पनि उजुरी दिएकी छन् । तर, युनाइटेड पोस्टको ठेगाना पत्ता लाग्न नसकेर अहिलेसम्म अदालतले त्यो पत्रिकाको नामको पूर्जी तामेल गर्न सकेको छैन ।

हालै ताजा खबर साप्ताहिक, रिपोटर्स नेपाल र रिपब्लिका दैनिक नामक अनलाइनले पनि त्यही प्रकारका झुटा समाचार प्रकाशित गरेका छन् । त्यस सिलसिलामा ताजा खबरले लेख्दछ ः “मोहनविक्रमलाई अहिले श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउनु छ । सिंहले श्रीमतीलाई मन्त्री बनाइदेउ भन्दै कहिले खुमलटार पुगेका छन् त कहिले प्रम ओलीलाई गुहारेका छन् । यो समाचार नेकपा (मसाल)ले नपचाउन सक्छ ।

महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति प्रकाशित गर्दै समाचारलाई झुट भनेपनि अनौठो नमाने हुन्छ । किनकी उनी पहिला प्रम केपी ओलीसँग श्रीमतीलाई मन्त्री बनाइदिन निकै धाए । ओलीले बेवास्ता गरेपछि खुमलटार धाउन थालेको प्रमाण समाचार सूत्रले गोप्य राखेको छ ।” उक्त साप्ताहिकले गोप्य राखेको “प्रमाण” के हो ? त्यसरी कुरालाई सन्ध्येयमा राखेर त्यसले बढी भ्रम दिने प्रयत्न गरेको छ ।

रिपोटर्स नेपालले लेख्दछ ः “मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल सांसद छिन् । उनलाई मन्त्री या उपसभामुख बनाउन मोहनविक्रम सिंहले लविङ थालेका छन् । त्यसका लागि उनले प्रचण्डलाई समेत भेटेका छन् । सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिल्ने संवैधानिक व्यवस्था छ ।

त्यसैले उक्त पद दुर्गाको लागि माग्न मोहनविक्रम सिंहले सक्रियता देखाएका हुन् । उपसभामुख नपाए मन्त्री भएपनि बनाउने गरी सिंहले प्रचण्डलाई भेटेका हुन् । संसदको अधिवेशन ४ पौषबाट सुरु हुँदैछ । त्यस अगावै सभामुख र उपसभामुखको लागि दौडधुप चलेको छ । यस क्रममा दुर्गालाई उपसभामुख बनाउन मोहविक्रम सिंहले समेत लविङ थालेका छन् ।”

रिपब्लिका दैनिक २०७६ पौष ३ लेख्दछ ः मोहनविक्रम सिंहले दुर्गा पौडेललाई “उपसभामुख वा मन्त्री बनाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहासँग आग्रह गरेका छन् । दाहालसँगको भेटमा नेता सिंहले पौडेललाई उपसभामुख बनाउन आग्रह गरेका हुन् ।

उपसभामुख बनाउन नसके मन्त्री भए पनि बनाउन सिंहले दाहालसँग आग्रह गरेको नेकपा निकट उच्च स्रोतले जनाएको छ । सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिल्ने संवैधानिक व्यवस्था छ । त्यसैले उक्त पद पौडेलका लागि उपयुक्त हुने सिंहले नेकपाका अध्यक्ष दाहालसँग आग्रह गरेका छन् ।”

माथिका सबै समाचारहरू निराधार र कपोलकल्पित हुन् । पहिले दुर्गालाई मन्त्री बनाउको लागि प्रधानमन्त्री ओली र भारतीय राजदूतलाई समेत भेटेका समाचारहरू छापिने गर्दथे । पछिल्लो समयमा छापिएका पत्रपत्रिका र अनलाइनहरूले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसित नै त्यस प्रकारको दौडधुप गरेको समाचार प्रकाशित गरेका छन् । त्यस सन्दर्भमा मैले के स्पष्ट गर्न चाहन्छु भने हालसालका महिनाहरूमा मेरो उनीसित कुनै भेटघाट पनि भएको छैन । फोनमा समेत कुनै सम्पर्क भएको छैन । नेकपाको नजिकको कुनै स्रोतले झुटा समाचार प्रसारित गरेको छ ।

पत्रकारिताको गोप्यतामाथि ध्यान दिँदै उनीहरू त्यस प्रकारको प्रमाण वा स्रोत खुलाउन तयार नभएको अवस्थामा पनि त्यस प्रकारको समाचारको सत्यता प्रमाणित गर्नु उनीहरूको जिम्मेवारी हुन्छ । अन्यथा झुटा समाचार प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमा आक्रमण गर्ने उनीहरूलाई कुनै अधिकार हुँदैन । पत्रकारिताको आचार संहिताले पनि उनीहरूलाई त्यस प्रकारको कुनै अधिकार दिँदैन । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो अत्यन्त नीचस्तरको र अनैतिक पीत पत्रकारिता हो । हामीले उनीहरूलाई हाम्रो यो आलोचनालाई गलत सावित गर्न चुनौती दिन्छौँ ।

सत्यता यो हो कि चुनावपछि ओलीसित मेरो भेटघाट वा टोलिफोनमा कुनै वार्ता समेत भएको छैन । दुर्गालाई मन्त्री बनाउन ओलीकहाँ धाएको भन्ने समाचार पूरै झुट हो । चुनावपछि प्रचण्डसित एकाधपल्ट अवश्य पनि भेटघाट भएको छ । तर, उपसभामुखको प्रसंग पूर्व सभामुख कृष्ण बहादुर महराले सभामुख पदबाट राजिनामा दिएपछि नै सुरु भएको हो । तर, त्यो कालमा मेरो प्रचण्डसँग कुनै भेटघाट वा फोनमा कुरा समेत भएको छैन ।

उक्त झुटा समाचारहरूभन्दा महत्वपूर्ण प्रश्न यो होः त्यस प्रकारका झुटा समाचारहरू विभिन्न पत्रपत्रिका वा अनलाइनहरूले सिलसिलेवार प्रकारले किन प्रकाशित गर्ने गरेका छन् ? यसका पछाडिको उद्देश्य वा अभिप्राय के हो ? पत्रकारिताको उद्देश्य सत्य समाचारको खोजविन गर्नु वा प्रकाशित गर्नु हुन्छ र हुनुपनि पर्दछ । तर, कसैले सनियत र योजनावद्ध प्रकारले झुटा समाचार प्रकाशित गर्दछ भने त्यो समान्य कुरा होइन । मेरो वा दुर्गा पौडेलको सन्दर्भमा लगातार त्यही कुरा हुने गरेको छ ।

एकाध पत्रपत्रिकाले त्यस प्रकारको झुटा समाचार प्रकाशित गरेको भए त्यो सामान्य कुरा हुन्थ्यो वा हुन सक्दथ्यो । कसैले कतैबाट त्यस प्रकारको झुटा समाचार प्राप्त गरेको हुनाले भूलचुकवस त्यस प्रकारको समाचार प्रकाशित गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्नथ्यो होला । त्यो अवस्थामा उनीहरूको नैतिक दायित्व त्यस प्रकारको गल्ती वा कमजोरीलाई सच्याएर सत्य समाचार दिनु नै हुन्थ्यो वा हुनुपर्दथ्यो । तर, हाम्रो सन्दर्भमा सिलसिलेवार रूपले नै कैयौँ पत्रपत्रिका वा अनलाइनहरूले एकपछि अर्को गर्दै त्यस प्रकारका समाचारहरू प्रकाशित गर्ने गरेको कुरा माथिका केही तथ्यहरूबाट प्रष्ट हुन्छ ।

त्यो अवस्थामा यो शंका गर्नका लागि ठाउँ छ कुनै देशी वा अन्तर्राष्ट्रिय गिरोहले सनियत नै त्यस प्रकारको समाचारहरू प्रकाशित गरेर भ्रम फैलाउने काम गरिरहेको त छैन ? त्यस प्रकारको गिरोह कुन हो ? त्यसबारे स्वयं पत्रकार जगतले पनि ध्यान दिनुपर्ने वा त्यसबारे सत्यतथ्य बाहिर ल्याउन प्रयत्न गर्नुपर्ने आवश्यकता छ । किनकी अहिले सिलसिलेवार प्रकारले जुन पीत पत्रकारिता देखा परेको छ, त्यसबारे पत्रकार जगत पनि बदनाम हुँदै गएको छ ।

पत्रकारिता जगतलाई त्यस प्रकारको अमर्यादित व्यवहारबाट बचाउन प्रेस काउन्सिलको व्यवस्था गरिनुका साथै विभिन्न कानुनी व्यवस्थाहरू पनि गरिएका छन् । तर, त्यसका बाबजुद नेपालको पत्रकार जगतमा यस प्रकारको पीत पत्रकारिता किन अनियन्त्रित प्रकारले मौलाउँदै वा फैलिँदै गइरहेको छ ? यो गम्भीर प्रश्न हो । स्वयं पत्रकार जगतले यसबारे प्रकाश हाल्नुपर्ने वा जवाफ दिनुपर्ने आवश्यकता छ ।

हाम्रो पार्टीले दुर्गा पौडेललाई उपसभामुख बनाउने बारे कुनै विचार वा छलफलसम्म गरेको छैन, त्यसबारे खुमलटार धाउने त धेरै टाढाको कुरा भयो । त्यो कुरा कसले उठायो र कहाँ उठ्यो ? त्यो हाम्रो सरोकारको विषय होइन । त्यसकारण त्यसबारे कुनै छलफल गर्नुपर्ने आवश्यकता नै हामीले देखेका छैनौँ । कुनै बेला यस प्रकारको कुनै विषयमा आधिकारिक रूपमा त्यस प्रकारको कुनै प्रस्ताव आएमा हामीले त्यसबारे आवश्यक निर्णय गर्ने गर्दछौँ र त्यसबारे सार्वजनिक रूपले जानकारी पनि दिने गर्दछौँ । त्यस प्रकारको कुनै विषयमा निर्णय गर्दा हाम्रा आफ्नै सिद्धान्त वा नीतिहरू हुन्छन् र तिनीहरूका आधारमा नै हामीले कुनै निर्णय गर्दछौँ ।

सत्ता वा कुनै पदको लागि धाउने हाम्रो पार्टीको कुनै चरित्र छैन । हाम्रो पार्टीको अहिलेसम्मको इतिहासमाथि ध्यान दिने हो भने त्यो कुरा प्रष्ट हुन्छ । भारतीय शासक वर्गको चाकडी गरेर धेरै राजनीतिक पक्षहरूले सत्तामा पुग्न प्रयत्न गर्दै आएका छन् । तर, हाम्रो पार्टीले भारतीय साम्राज्यवादप्रति सधैँ दृढ र सम्झौताहीन संघर्षको नीति अपनाउँदै आएको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले भारत अब विस्तारवादी देश नरहेर साम्राज्यवादी देश भएको निष्कर्ष निकालेको छ ।

नेपालप्रति त्यसले अपनाइरहेका हस्तक्षेप र अतिक्रमणका नीतिहरूका कारणले त्यसप्रतिको हाम्रो विरोध वा संघर्ष अरू बढेर गएको छ । त्यस प्रकारको अवस्थामा भारतीय राजदूतसँग भेटेर दुर्गा पौडेललाई मन्त्री बनाउन प्रयत्न गर्ने कुरा हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । त्यो अवस्थामा हाम्रा विरुद्ध लगाइएको त्यस प्रकारको आक्षेप हाम्रो चरित्र हत्या गर्ने कुरा मात्र नभएर हाम्रो पार्टीको उज्ज्वल र गौरवपूर्ण चरित्रमाथि नै हमला गर्ने प्रयत्न हो । त्यसले बताउँछ, कतिपय पत्रकारहरू कति तल्लो स्तरमा गिर्न सक्दारहेछन् ।

उनीहरूले व्यक्तिगत रूपमा मेरो वा दुर्गाको चरित्र हत्या गर्नको लागि होइन, हाम्रो पार्टीको राजनीतिक चरित्रलाई धमिल्याउनको लागि नै त्यस प्रकारको प्रचार गरिरहेका छन् । नेपालको राजनीति वा कम्युनिस्ट आन्दोलनमा त्यो कुनै नयाँ कुरा होइन । दशकौँदेखि हाम्रा विरुद्ध त्यस प्रकारको झुटा प्रचार वा चरित्र हत्या गर्ने काम हुँदै आएको छ । राजनीतिक रूपले हाम्रा विरुद्ध संघर्ष गर्न नसकेपछि उनीहरूले व्यक्तिगत गालीगलौज वा चरित्र हत्याद्वारा हामीमाथि हमला गर्ने गर्दछन् । तर, त्यसले हाम्रो राजनीतिक भूमिकालाई समाप्त गर्न सक्दैन ।

भनिन्छ, पहिले हङकङमा सीआएको एउटा एजेन्सी थियो । त्यसले माओका विरुद्ध झुट्टा समाचार बनाएर लगातार प्रसारित गर्ने गर्दथ्यो । केही समयपछि एउटा समाचार झुटा सावित भएपछि पुनः अर्को झुटा समाचार बनाएर प्रचार गर्ने गर्दथ्यो । त्यस प्रकारको नयाँ समाचारले केही समयको लागि भ्रमदिन सक्दथ्यो । तर, त्यसको असर कम भएपछि पुनः नयाँ झुट्टा समाचार प्रसारित गर्ने गर्दथ्यो ।

त्यही प्रकारको सीआइए शैली नेपालका कतिपय पत्रपत्रिका वा अनलाइनहरूले पनि अपनाएको देखिन्छ । यस सन्दर्भमा हिटलरको प्रचारमन्त्री गोयल्सले अपनाएको शैली पनि उल्लेखनीय छ । उसको के मान्यता थियो भने कुनै झुट्टा समाचारलाई पनि बारम्बार दोहोराएपछि त्यसलाई सत्य सावित गर्न सकिन्छ ।

प्रतिक्रिया