खोजखबर

पर्यटकीय आकर्षण बन्दै पाल्पाको रामपुर

सुशीला रेग्मी २०७६ मंसिर २९ गते १४:२७ मा प्रकाशित

बेझाड । बुटवल, पोखरा र नारायणघाट शहरहरुको बीच भागमा काठमाडौँ उपत्यका झै लाग्ने पाल्पाको रामपुर अवस्थित छ । भौगोलिक अवस्थिति हेर्दा काठमाडौँ शहर जस्तै लाग्छ रामपुर उपत्यका । पाल्पाको सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर पूर्व रामपुर उपत्यका पर्छ । रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भू–भाग, डाँडाकाँडाको बीचमा पर्ने सुन्दर शहरको रुपमा यो उपत्यका अगाडि बढ्दैछ । रामपुर नगरपालिकाभित्र ऐतिहासिक, पर्यटकीय तथा धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापूधाम, राम्चे वन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाट जस्ता महत्वपूर्ण स्थलहरु छन् । यी क्षेत्रले पर्यटकलाई लोभ्याइरहेका छन् ।

रामपुरको पौराणिक इतिहास त्रेतायुगमा भगवान रामचन्द्र बनवास जाने क्रममा पाल्पाको रामपुरमा आएर बास बसेको र उनै भगवानको नामबाट रामपुर रहन गएको किंवदन्ति छ । बनवासको क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको भन्ने कथा छ । त्यही भएर यस घाटलाई रामघाट भनिएको हो । रामघाट क्षेत्रमा रामगुफा, चमेरे लगायतका दर्जनौं गुफा छन् । यहीँ तपस्या गरेर बसेको बेला रामचन्द्रकी धर्मपत्नी सीता महिनावरी भएपछि उनलाई लुकाउन साविक दर्छा गाविसको माथिल्लो भागमा लगियो । महिनावरी भएको बेला नुहाउन त्यहाँ पानी नभएपछि रामचन्द्रले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरेको किम्वदन्ति छ । सीताले त्यही कुण्डमा नुहाएको हुनाले सीताकुण्ड नाम रहन गएको हो ।

बूढापाकाका अनुसार यस कुण्डमा पहिले चामल फल्ने गरेको र स्नान गर्न आउने उपवास बसेकाले भोक लाग्दा चामल थुतेर खान थालेपछि धान फल्न थालेको हो । कुण्ड परिसरमा जीर्ण सीता मन्दिरको मर्मत, पर्खाल, ठाँटी निर्माण लगायतका काम बढाइएको छ । रामपुर बजारबाट कुण्डसम्म जाने सडकको स्तरोन्नति भएको कारण अहिले यो क्षेत्रमा अवलोकन भ्रमणको निम्ति विभिन्न स्थानबाट आउनेको चहलपहल बढ्दै गएको सीताकुण्ड मन्दिर संरक्षण समितिका सचिव रुद्र नेपालीले बताए । यस कुण्डलाई रामपुर नगरपालिकाले दश उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत गरेको छ । यहाँ जलदेवी, सीतामाई, भैरमकाली र सेती नाग रहेको छ । पहिले पहिले यहाँ पशुबलि दिने गरेकामा केही वर्ष यता भने पशुबलि अन्त्य गरी फलफूल र नरिवल चढाउने गरिन्छ ।

यहाँ रामनवमी, कृष्ण जन्माष्टमी, अक्षय तृतीयाका अवसरमा विशेष मेला लाग्छ । रामनवमीमा रामले नुहाएको कालीगण्डकीको रामघाटको जल ल्याई सीताकुण्डमा चढाउने प्रचलन छ । रामपुरको कला, संस्कृति र रहनसहनले यहाँ आउने प्रत्येकलाई लोभ्याउने गरेको छ । ब्राह्मण, नेवार, मगर, मुस्लिम लगायतका समुदायको रहनसहन अध्ययन गर्नेका लागि यो अनुपम स्थल रहेको रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष मुरारीप्रसाद काफ्ले बताउँछन्।
‘नेपालकै एकमात्र शालिग्राम पाइने पवित्र कालीगण्डकी, विभिन्न समुदायका कला, संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरताले भरिपूर्ण रामपुरमा अध्ययन अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटक आउने क्रम बढिरहेको छ,’ उनले भने ।

त्यस्तै, कालीगण्डकीले टापू आकारमा घेरेको खैरेनी सामुदायिक वन यहाँको अर्को आकर्षण हो । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । पौराणिक कथन अनुसार मुक्तिनाथदेखि बगेर आएको कालीगण्डकी रामपुर नगरपालिकाको साबिक खालिवन गाविसको खैरेनी सामुदायिक वनबाट दक्षिणतर्फ बग्ने क्रममा त्यहाँ खैरी नाम गरेकी गाई ब्याएर बसेकी थिइन् । गाईले बच्चा जन्माएर बसेपछि बग्दै आएको नदी सोही बाटो फर्केर उत्तरतर्फ बग्दै गएको भन्ने कथा छ । यस क्षेत्रलाई धेरैले गाईले बच्चा पाएर नदी घुमेको स्थान भनेर पनि चिन्छन् । नदी बगेर फर्केको दक्षिणतिरको भागमा ठूला साना गरी १० वटा जति ओढार छन् ।

ओढारमा त्रेतायुगमा ऋषिमुनि आएर बसेको पौराणिक कथनले पनि यसको धार्मिक महत्वलाई दर्शाउने स्थानीयवासी एवं साविक खालिवन गाविसका पूर्व गाविस सचिव एकराज अर्यालले बताए । तानसेनबाट खालिवनको बाटो हुँदै रामपुर झर्ने जो कोही पनि खैरेनी वनको मनोरम दृश्य, चराचुरुङ्गीको चिरबिराहट सुन्दै फेदीमा झर्ने गर्दछन् । झण्डै गाडीमा आधा घण्टाको ओरालो बाटो हुँदै फेदीमा झरेको कसैलाई पत्तै हुँदैन । अधिकाँशले मोबाइल, क्यामेरामा सेल्फी र तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गरेकाले यसको चर्चा अझै चुलिँदै गएको छ । यहीँको दृश्य नियाल्नकै निम्ति पक्की सडक छोडेर जब्गादीबाट कच्ची सडक हुँदै कतिपय रामपुर बजार झर्ने गर्छन् । ‘अति सुन्दर मनै लोभ्याउने प्रकृति नियाल्दै, रमाउँदै फेदीमा झर्दा जो कसैलाई पनि सपनाबाट विपनामा ब्युँझिए जस्तो आभास हुन्छ,’ अर्यालले थपे, ‘यो न कुनै बनावटी हो वा कल्पना, यो त प्रकृतिको सुन्दरता हो ।’

उत्तरबाहिनी कालीगण्डकीले खैरेनी सामुदायिक वनलाई घेरेको अनौठो दृश्य कवि वा गीतकारलाई मात्र नभई सबैलाई लोभ्याउने स्थानीयवासी बताउँछन् । अठार हेक्टर क्षेत्रफलमा फैलिएको वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापू आकारमा घेरेको छ । नदीले घेरेको वनलाई सानो खैरेनी वन र नदीले नघेरेकोलाई ठूलो खैरेनी वन भनी नामकरण गरिएको छ । वनभित्र गौतम बुद्धको मूर्तिसहितको कुटी निर्माण गरिएको छ भने एउटा निर्माणाधीन पौवा छ । वर्षायाममा नदीले दक्षिणतिरको क्षेत्रबाट बगेर टापू आकारको खैरेनी वनलाई घेर्ने हुँदा त्यहाँसम्म पुग्न डुङ्गा सञ्चालन गर्न सकिए यस क्षेत्रमा दिनहुँ पर्यटक आउने सरोकारवाला बताउँछन् ।

कालीगण्डकी करिडोरबाट करीव आधा घण्टाको पैदल दूरीमा रहेको यो स्थानमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सकिए आम्दानीको स्रोत पनि बढाउन सकिन्छ । सरकारको १०० पर्यटकीय गन्तव्य स्थलमा परेको तालपोखरा यहाँको अर्को पर्यटकीय आकर्षण हो । सामान्यतः वर्षाको पानी जम्मा हुने पोखरीलाई कृत्रिम तालका रुपमा विकास गरेसँगै यसले फेवातालको आभास दिन थालेको छ । तालपोखरामा डुङ्गामा सयर गर्ने र पार्कमा रमाउन आउने पर्यटक बढ्दै गइरहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउँछन् ।

छत्र शैली र गुम्बा शैलीमा जनकपुरको झझल्को दिने गरी राममन्दिर परिसरमा रामजानकी मन्दिर निर्माण भइरहेको छ । त्यस्तै, यहाँकै राम्चे वनको भ्युटावरबाट रामपुरको दृश्यावलोकन गर्न सकिन्छ । संस्कृति र प्रकृतिको बरदान यहाँका पर्यटकीय स्थल एवं कला संस्कृतिलाई संरक्षण गरी देशकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । ‘बाहुनडाँडाबाट प्याराग्लाइडिङ् सञ्चालन गरी यस क्षेत्रलाई प्याराग्लाइडिङ हबका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ थापाले भने ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय