चासोक तङ्नाम मनाइयो

ताप्लेजुङ । किराँत समुदायको बाक्लो बसोवास रहेको ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लामा चासोक तङ्नाम पर्व धूमधामको साथ मनाइयो । किराँत समुदायले विशेष महत्वको साथ मनाउने पर्व चासोक तङ्नाम सुरु भएसँगै यसको रौनकले छोपेको थियो ।

ताप्लेजुङमा भने गत बुधबार र बिहीबार दुई दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमसहित उक्त पर्व मनायो । विगतका वर्षमा जस्तै यो वर्ष पनि किराँत समुदायले सामूहिक रूपमा पूजाआजासहितका कार्यक्रम आयोजना गरी चासोक तङ्नाम मनाएका हुन् । धान्य पूर्णिमाको दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याक्खाले चासुवा र सुनुवारले फोलस्यादरका रूपमा यस पर्वलाई मनाउँदै आएका छन् ।

लिम्बू समुदायमा आदिमकालदेखि नै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा छ । अन्नलाई किराँत समुदायले माङ् (देवता) को रूपमा मान्ने गर्छन् । धान पाक्ने मौसम कात्तिकदेखि धान्य पूर्णिमासम्म नै पाकेको अन्नबालीलाई थान थापेर पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । चासोक तङ्नामलाई न्वागी पूजाको रूपमा समेत लिइन्छ ।

‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा पूजाआजासहित आयोजना गरिन्छ । पर्वमा किराँत समुदायको परम्परागत वेशभूषा र गरगहनाको पहिरनसहित पालाम, धान नाच र च्याब्रुङ नाचसमेत नाच्ने गरिन्छ । ताप्लेजुङमा यो वर्ष पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित खेलकुद प्रतियोगिता आयोजना भएको छ । चासोक तङ्नाम पर्व केही वर्ष अघिसम्म एकदिन मात्रै मनाउने गरिए पनि पछिल्लो समयमा विभिन्न कार्यक्रमसहित दुई–तीन दिनसम्म मनाउने प्रचलन सुरु भएको छ ।

किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति र फुङलिङ नगर कार्य समितिले संयुक्तरूपमा पर्व विशेष विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यता किराँत समुदायको परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा किराँत समुदाय विशेष संघसंस्था पनि सक्रिय हुन थालेका छन् । आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि सबै पक्षसँग आह्वान गरेको किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य भद्र बोखिमले बताए ।

चासोक तङ्नाम लिम्बू समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा धुमधामले मनाउने गरिन्छ । यस्तै, विदेशमा बसोवास गर्दै आएका लिम्बू समुदायले समेत चासोक तङ्नामका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

प्रतिक्रिया