पूर्वीक्षेत्रबाट लोप हुँदै गिद्ध

पाँचथर । ‘पूर्वी पहाडि क्षेत्रमा गिद्ध देखिन छाडेको छ । ठुल्ठुला सिमल, वर, पिपल, अग्ला रूखहरु र आकासमा देखिने गिद्ध लोप भएका छन् । कहिलेकाँही फाट्टफुट्ट गाउँघरमा देखिन्थ्यो, आजकाल त देखिदैनन् ।

मरेरै सके कि के भो भन्ने ?’ पाँचथरका सिडिओ मुरारी वस्तीले भनेका छन् । पाँचथर जिल्लालाई ७१ औँ डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा कार्यक्रममा उनले यस्तो भनेका हुन् । कार्यक्रममा जिससका प्रमुख विष्णुप्रसाद सापकोटाले आफूले पन नदेखेको भन्दै चिन्तासहितको जिज्ञासा राखे । ‘मैले पनि नदेखेको धेरै भयो तर पहिले–पहिले धेरै देखिन्थे, उनले भने ।’

प्रकृतिको गहनाको रूपमा हेरिने गिद्ध मुलुकको पूर्वी क्षेत्रमा देखिन छाडेको हो । वर्षौं यता गिद्ध देखिन छाडेपछि यसको चासो र चिन्ता प्रकट हुन थालेको छ । जनावरको सिनो खाएर बाँच्ने पंक्षी गिद्ध आफै शिकार गर्दैन तर मृत जनावरको सिनो खाने यसले वातावरण दुर्गन्धित हुनबाट जोगाउँछ । हाल लोप हुँदै गएको उक्त गिद्धको संरक्षणमा सक्रिय एक संस्था बर्ड कन्जरभेसन नेपाल (बीसीएन्) ले २०४७ सालसम्ममा नेपालमा मात्रै करिब ५ लाखको संख्यामा गिद्ध रहेकोमा २०५८ सालसम्ममा ९१ प्रतिशत घटेको जनाएको छ । हाल अझै घट्दो क्रममा रहेको जनाइएको छ ।

धार्मिक, साँस्कृतिक महत्व बोकेको गिद्ध घट्दै जानुको मूख्य कारण पशुमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको अनुसन्धानकर्ताहरुको निश्कर्ष छ । औषधी व्यवस्था विभागले पनि यस औषधीलाई २०६३ को जेठ २३ गतेदेखि उत्पादन, बिक्रि वितरणदेखि आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध उल्लङ्घन गर्नेलाई तीन वर्षसम्म कैद, २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

यस्तै गिद्ध संरक्षणकै लागि देशभर डाइक्लोफेनेक औषधी मुक्त गराइदैछ । यो अभियानमा जोडिएको संस्था बीसीएन्का कार्यक्रम अधिकृत भूपाल नेपालीले पूर्वको पाँचथर र ताप्लेजुङ लगायत जिल्लासहित ७२ जिल्लालाई डाइक्लोफेनेक औषधी मुक्त जिल्ला घोषणा गरिसकेको बताए । यस औषधी खुवाइएको पशु मरेमा उसको सिनो खाएका गिद्धहरु पनि मर्ने गर्दछन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख समेत रहेका वरिष्ठ पशु विकास अधिकृत डा. इन्द्रनारायण शाह भन्छन् ‘डाइक्लोफेनेक औषधी खुवाइएको पशु मरेको र गिद्धले खाएको अवस्थामा गिद्धमा भिसरल गाउट अर्थात् भित्री अंगहरुमा युरिक एसिडका पत्थर जम्मा हुने र त्यसपछि मृगौलाले काम गर्न छाड्ने हुँदा गिद्धहरु मर्ने गरेको अध्ययनले देखाएको छ ।’

गिद्ध लोप हुनुको कारण डाइक्लोफेनेक औषधीसँगै अरु कारणहरु छन् । तीमध्ये सिमल लगायतका अग्ला रुख मासिँदै जाँदा वासस्थानको कमी हुनु र मरेका पशुहरु गाड्दा सिनो खान नपाउनु पनि हो । बीसीएन्का कार्यक्रम अधिकृत नेपालीले भने गिद्धको संख्या घट्दै जानुमा विषादीको प्रयोग बढ्नु र विद्युतिय तार पनि एक भएको बताएका छन् ।

९ प्रकारका गिद्ध नेपालमा
नेपालमा सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, राज गिद्ध, लामो ठुटे गिद्ध, हाडफोर गिद्ध, खैरो गिद्ध र हिमाली गिद्ध गरी ९ प्रकारका गिद्ध पाइन्छ । हाडफोर र गोब्रे गिद्धको केही अवस्थामा बाहेक गिद्धहरुले एउटा मात्रै फुल पार्ने जीवशास्त्रीहरु बताउँछन् । असोज महिनातिर गुँड लगाएर फुल पार्ने गर्दछ । करिब ७५ दिन ओथारा बसेर बच्चा कोरल्ने १सय२० दिनमा उड्न सक्ने हुने गर्दछ ।

प्रतिक्रिया