निष्पक्ष समाचार सम्प्रेषण गर्न सुझाव

भक्तपुर । मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठले सञ्चार जगत्मा देखिएका विकृतिहरू हटाउँदै निष्पक्ष र सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सञ्चार समाजलाई सुझाव दिएका छन् ।

शनिबार मध्यपुर सञ्चार समाज भक्तपुरको साधारणसभा तथा तेस्रो अधिवेशनमा उनले मध्यपुर नगर क्षेत्रमा दैनिक पत्रिका सञ्चालन नभएका कारण पत्रकारिताका क्षेत्रमा उल्लेख्य उपलब्धि हुन नसकेको गुनासो व्यक्त गर्दै त्यसका लागि नगरले आवश्यक आर्थिक तथा भौतिक सहयोग गर्न तयार रहेको बताए ।

उनले यसका लागि सञ्चार समाजले यसको नेतृत्व गर्न सक्ने जिकिर गरे । समाजका निर्वतमान अध्यक्ष हरिबहादुर श्रेष्ठले नयाँ बनेको कार्यसमितिले विभिन्न समयमा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन राम्रो भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा अग्रज पत्रकार तथा स्वतन्त्र सञ्चार ग्राम साप्ताहिकका सम्पादक दानदास श्रेष्ठलाई थेमृङ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । मध्यपुर थिमी क्षेत्रमा बसोबास गर्दै पत्रकारितामा निरन्तर योगदान पु¥याउने व्यक्तिहरूमध्येबाट हरेक वर्ष थेमृङ मासिक पत्रिकाले उक्त सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रममा शंखधर साख्वा, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, अग्रज पत्रकार दानदास श्रेष्ठ, आदर्श उच्च माविका प्राचार्य बुद्धिकृष्ण गो तथा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन समाजका सचिव तथा सञ्चारकर्मी सागर गुरागाइँले गरेका थिए ।

प्रतिक्रिया