दर्शकको हौसलापछि दोस्रो स्वर्ण जितेँ– गौरिका

काठमाडौं । पौडीकी गौरिका सिंहले १३ औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जितेकी छन् । दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितेको भोलिपल्टै शुक्रबार उनले दुई सयमिटर ब्याक स्ट्रोकमा स्वर्ण पदक हात पारेकी हुन् ।  जारी प्रतियोगितामा नेपालका तर्फबाट दोहोरो स्वर्ण पदक जित्ने उनी चौथो खेलाडी हुन् । यसअघि तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फबाट सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा भएको प्रतियोगितामा गौरिकाले २ मिनेट ४१ दशमलव २६ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमानमा २४ सेकेन्डको सुधार गर्दै २ मिनेट १७ दशमलव ७३ सेकेन्डमा उक्त दुरी पार गरेकी थिइन् ।

भारतकी मान्ना राजिव पटेललाई झण्डै ३ सेकेन्डले पछि पार्दै गौरिकाले स्वर्ण जितेकी हुन् । पटेलले २ मिनेट २० दशमलव १७ सकेन्डमा उक्त दुरी पार गर्दै रजत जितिन् । यस्तै श्रीलंकाकी गंगा सेन मालवाथंगेले यस विधामा कास्य पदक हात पारिन । उनले निर्धारित दूरी २ मिनेट २७ दशमलव २५ सेकेन्डमा पार गरेकी थिइन् ।

गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरेकी थिइन् । सन् २०१८ को राष्ट्रिय खेलकुदमा आफैँले बनाएको रेकर्ड सुधार गरेकी थिइन् । उनले फ्रीस्टाइलतर्फ २ मिनेट ०५ दशमलव ०६ मिनेटमा दुरी पार गरेकी थिइन् । यसअघि उनले उक्त रेकर्ड २ मिनेट ०९ दशमलव १९ को कायम गरेकी थिइन् ।

उनले २ सय मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेपछि भनिन्, ‘म सुरुमा अलिकति नर्भस थिएँ । भारतीय खेलाडी मभन्दा अगाडि थियो । दर्शकदीर्घाबाट आवाज गुन्जिएपछि ममा थप उत्साह आयो ।’ उनले सागको इतिहासमा पौडीतर्फ दुईवटा स्वर्ण जित्न सफल भएकोमा खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया