मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु

चितवन । मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४ प ६६५० नंको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ः४५ बजे ठक्कर खाएको हो । प्रहरीका अनुसार ना ४० प ७३१३ नंको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी लु ४ प ६६५० नंको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गीे घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा एकको मृत्यु

बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००५ प ९७८५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै श्रीमान–श्रीमती रहेको र दोलखा माइती गई फर्कने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया