पर्यटन क्षेत्रमा शुभ संकेत

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा एउटा सुखद समाचार आएको छ । नेपाली विमानलाई चीन सरकारले आफ्नो देशमा उडान अनुमति दिएको छ । अब राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले काठमाडौंबाट चीनको ग्वान्झाउसम्म उडान गर्न पाउनेछ । नेपालका लागि यो निकै ठूलो उपलब्धि हो । यसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धेरै हदसम्म योगदान गर्छ नै, त्यसबाहेक टाट पल्टने तरखरमा रहेको नेपाल वायुसेवा निगमले पनि त्राण पाउने सम्भावना बढेको छ । चीनका विभिन्न कम्पनीहरूले नेपालमा लामो समयदेखि उडान गर्दै आए पनि नेपालका कम्पनीहरूले भने अहिलेसम्म चीनमा उडान गर्ने अनुमति पाएका थिएनन्, जसका कारण नेपाल र चीनबीचको हवाई उडानबाट चीनले एकलौटी फाइदा लिइरहेको थियो । अब त्यो फाइदाको हिस्सेदार नेपाल पनि हुने सम्भावना बढेर गएको छ । नेपालले ग्वान्झाउलगायत प्रमुख १४ सहरमा उडान अनुमतिका लागि चीन सरकारसँग आग्रह गर्दै आएकोमा एउटा सहर खुला भएको छ । अब नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङलगायत बाँकी १३ वटा सहर पनि चीनले नेपालका लागि खुला गरिदिने सम्भावना रहेको पर्यटन व्यवसायीहरूले गरेका छन् । तर, यसका लागि नेपाल सरकारले अझै धेरै लबिङ गर्नुपर्ने उनीहरूको सुझाब छ ।

चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् । उनीहरूले अहिले वार्षिक करिब डेढ लाख चिनियाँ पर्यटक र उत्ति नै संख्यामा नेपाली यात्रुलाई सेवा दिन्छन् । व्यापारको यो हिस्सा अहिले चिनियाँ वायुसेवा कम्पनीहरूले एकलौटी ओगटेको अवस्था छ । नेपाल वायुसेवा निगमले चीनबाट जहाज खरिद गर्दासमेत उडान अनुमति नपाएको सन्दर्भ निकै पेचिलो बनेको थियो । एकातिर चीन आफैँले मात्रै नेपालमा उडान गर्नु र अर्कातिर भाडा पनि निकै महँगो हुनुले चीन हुँदै नेपाल आउने तथा नेपाल हुँदै चीन जाने पर्यटक आकर्षित हुन सकेका छैनन् । उदाहरणका लागि काठमाडौंबाट दिल्ली र काठमाडौंबाट ल्हासाको दूरी करिब–करिब उत्ति नै पर्छ तर, भाडा भने काठमाडौंबाट दिल्लीभन्दा काठमाडौंबाट ल्हासाको दुई गुणा बढी छ । चीनको एकाधिकार भएकोले भाडा पनि महँगो भएको हो । नेपालले पाएको यो सुविधापछि काठमाडौंबाट चीनका सहरसम्मको भाडा निकै सस्तो हुन सक्छ । वार्षिक २० करोड चिनियाँविदेश भ्रमणमा जान्छन् । त्यसैगरी, वार्षिक २० करोड विदेशी चीन भ्रमणमा जान्छन् । यदि, नेपाल र चीनबीच हवाई भाडा सस्तो र उडान सरल तथा भरपर्दो हुने हो भने नेपालले निकै ठूलो फाइदा लिन सक्छ । ती ४० करोडमध्ये एक प्रतिशत पर्यटक मात्रै भित्रिए भने पनि नेपालको पर्यटन उद्योगले काँचुली फेर्ने अवस्था छ ।

नेपाल एयरलाइन्सले अब ध्यान दिनुपर्ने भनेको व्यवस्थापकीय पाटोमा हो । केही महिनाअघि जापानका दुईवटा सहरमा उडान अनुमति पाएको थियो । उडान सुरु भएको पनि तीन महिना बितिसकेको छ, तर व्यवस्थापकीय कमजोरीका कारण नेपाल एयरलाइन्सको जापान उडान घाटाको व्यापार भएको छ । चीनका सन्दर्भमा पनि यस्तै हुने त होइन ? भन्ने चिन्ता लाग्नु स्वाभाविकै हो । अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन तथा प्रचार–प्रसारमा जोड दिनु अत्यावश्यक छ । जापानमा जस्तै चीनमा रित्तो जहाज उडाउनु नपरोस् । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडान भर्न मिल्ने चारवटा जहाज छन् । चारवटा भनेको थोरै होइन । पूर्ण क्षमताका साथ यी चारवटा विमान चलाउन सक्ने हो भने नेपाल वायुसेवा निगमको उन्नति टाढा छैन । दक्षिण एसियाली खेलकुद सागको आयोजना तथा चीन सँगको हवाई उडान सम्झौताले नेपाल भ्रमण वर्ष २०२० निकै उपलब्धिमूलक हुने संकेत देखाएका छन् ।

प्रतिक्रिया