भवन निर्माण हुँदा स्थानीय खुसी

बैतडी । स्थानीय सरकार आएपछि सिंहदरबारका अधिकार गाउँगाउँमा भने पनि अहिले पूर्वाधारको कमी र कर्मचारीको अभावले जनताले अहिलेसम्म पनि खासै सिंहदरबारको अधिकारको अनुभूति गर्न सकेका छैनन् ।

बैतडीको पाटन नगरपालिका–९ का जनतालाई पनि वडा कार्यालय पायक पर्ने ठाउँमा नहुँदा टाढाबाट सेवा लिइरहेका थिए । पहिलेको वडा कार्यालय खोडे थियो । अहिले वडाको पायक पर्ने ठाउँमा सुविधा सम्पन्न वडा कार्यालय निर्माण हुँदा स्थानीय खुसी भएका छन् ।

‘पहिले एक दिन लाग्थ्यो अब सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालयको निर्माण भयो अब सजिलो हुन्छ’, वडा–९ का स्थानीय प्रेम भाटले बताए । अहिलेसम्म भाडाका घरबाट सबैलाई पायक पर्ने ठाउँवाट सेवा दिन नसकेको हुँदा अब सबैलाई पायक पर्ने ठाउँमा कार्यालयको निर्माण गरिएको हुँदा जनतालाई सेवा लिनमा सहजता भएको वडाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

अहिले वडा कार्यलयको भवन र स्वास्थ्य चौकीको भवन एकै ठाउँमा हुँदा पनि सेवाग्राहीलाई झन् सजिलो भएको स्थानीय नरेन्द्र भट्टले बताए । नगरपालिकाको ३८ लाखको आर्थिक सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण गरिएको वडा कार्यालयको सिलान्याश पूर्वअर्थराज्य मन्त्री एवं संघीय सांसद दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले गरेका थिए ।

प्रतिक्रिया