‘केन्द्रको मुख ताक्ने दिन सकिए’

इलाम । उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले जनताले विकासका लागि केन्द्रीय सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताएका छन् । जिल्लाको माङसेबुङ–५ स्थित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औँ जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले विगतमा जस्तो केन्द्र धाउने दिन गएको बताएका हुन् ।

मुलुक अहिले संघीयता कार्यान्वयनको अवस्थामा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोख्रेलले पूर्णरूपमा संघीयता कार्यान्वयन भइसकेपछि केन्द्र धाउने दिन सधैँका लागि अन्त्य हुने दावी गरे । उपप्रधानमन्त्री पोख्रेलले विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष र प्रदेश सरकारले पनि नसके मात्र संघीय सरकारसमक्ष माग गर्नुपर्ने पद्धतीको विकास गर्नुपर्ने बताए ।

संविधानले दिएको अधिकारको उपयोग गर्दै सबै सरकार उत्तिकै मजबुत रहेको बताउँदै संघीय सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उल्लेख गरे । त्यसका लागि तीनै तहका सरकारबीच तालमेल हुन अत्यावश्यक रहेको उल्लेख गरे । देशमा समृद्ध नेपाल र सुखी नेपालीको नारा वर्तमान सरकारले नै पूरा गर्ने प्रतिवद्धता जनाउँदै साथ दिन सम्पूर्ण इलामेली जनतासमक्ष आह्वानसमेत गरे । प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा समेत सबै सरकारले पहल गर्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया