संसदमा जयाको आक्रोसः बलात्कारीलाई भिडले मारोस

बिबिसी । भारतको एक सांसदले हैदराबादमा भएको २७ वर्षीया पशुचिकित्सकलाई बलात्कार गरी हत्या गर्ने पुरुषहरूलाई भिडले मारिदिनुपर्ने बताएकी छन् ।

आक्राेसित हुँदै सांसद जया बच्चले संसदमा भनेकी छन्, ‘मलाई थाहा छ यो क्रूर हो, तर यस्ता मानिसलाई सार्वजनिक स्थानमा ल्याएर मारिनुपर्छ,’ उनका साथै विभिन्न राजनीतिक दलका कैयौँ सांसदहरूले पनि उक्त क्रूर सामूहिक बलात्कार र हत्याको निन्दा गरे ।

हराइरहेकी पीडित महिलाको जलेको शरीर गत साता फेला परेपछि भारतभरि विरोध प्रदर्शन भएका छन् । प्रहरीका अनुसार उक्त घटनामा चार पुरुषलाई पक्राउ गरिएको छ ।

महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसा निकै उच्च छ ।

सोमवार सडकको आक्रोश संसद्मा समेत प्रतिविम्बित भयो । कैयौँ सांसदले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए ।

बलिवुडकी पूर्वनायिका जया बच्चन महिला अधिकारका विषयमा प्रखर वक्ता मानिन्छिन् । उनले सांसदहरूको तर्फबाट ती प्रश्न र कडा कारबाहीको मागको नेतृत्व गरेकी थिइन् । उनले संसदमा सम्बोधन गर्ने क्रममा भनिन, ‘मलाई लाग्छ समय आएको छ, जनता चाहन्छन् कि सरकारले उचित र दृढ उत्तर देओस ।’

उक्त घटनाका बारेमा दक्षिणी राज्य तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै भनिन, ‘ती चार पुरुष जसले यो अपराध गरे तिनलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्छ । ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो ।’

रक्षामन्त्री राजनाथ सिंहले भने, ‘यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको छ । सबैको मन दुखेको छ ।’ उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको समेत बताए ।

सन् २०१२ मा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र हत्याको घटनापश्चात् ल्याइएका कडा कानुनले महिलाविरुद्धका अपराध कम गराउने अपेक्षा गरिएको उनले बताए ।

प्रतिक्रिया