पाहुनाटोलि दार्जिलिङ फाइनलमा

इलाम । मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारत, इलामको माङसेबुङमा जारी १२ औँ संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा एएससी अर्जुनधारा झापाविरुद्ध २–० को सहज जित निकाल्दै दार्जिलिङ उपाधि नजिक पुगेको हो ।

पहिलो हाफमा १–० ले नै अग्रता कायम गर्न सफल दार्जिलिङले दोस्रो हाफमा अग्रता दोब्बर बनाउँदै सहजै फाइनलको यात्रा तय गरेको हो । खेलको २२औँ मिनटमानै दार्जिलिङका आशिस राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।  पहिलो हाफमा १ गोल खाएको झापा दोस्रो हाफमा समेत खेलमा फर्कन सकेन । विपक्षीलाई निरन्तर दबाबमा राख्न सफल दार्जिलिङले ६० औँ मिनटमा अग्रता दोब्बर बनायो । पुजन राइर्ले टिमकातर्फबाट दोश्रो गोल गरी टिमलाई २–० को सहज जित दिलाएका थिए । खेलको म्यान अफ दि म्याच विजेता दार्जिलिङका भवेस राई घोषित भए ।

उपाधिका लागि दार्जिलिङले सोमबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलको विजेतासँग मंगलबार खेल्नेछ । सोमबार अन्तिम सेमिफाइनलमा रेडस्टार क्लब विर्तामोड र भाङबारी स्पोर्टिङ युथ क्लब दमकबीच हुँदैछ ।  किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औँ जन्मोत्सवका अवसरमा आयोजितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरले पनि नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया