मानवीय संवेदनशीलतामा हवाई सुरक्षा

हवाई जोखिमको प्रमुख कारक तत्वका रूपमा मानवीय त्रुटीका अतिरिक्त प्राविधिक वा एकाएक पर्न आउने प्राकृतिक प्रकोपले पनि यस क्षेत्रमा नकारात्मक प्रभाव पारी दुर्घटना निम्त्याउने प्रबल सम्भावना रहन्छ ।नेपाली हवाई आकाशमा विगतका केही दशकहरूमा दुईवटा अन्तर्राष्ट्रिय स्तरका थाई एयरलाईन्स र पाकिस्थान एयरलाईन्सजस्ता ठूलास्तरका हृदयविदारक दुर्घटनाका अतिरिक्त कयाँ आन्तरिक दुर्घटनाको क्षति व्यहोर्नु परेको तथ्यलाई अन्यथा लिन मिल्दैन । यसबाट प्राप्त हुन आएको क्षतिलाई पाठका रूपमा लिँदै भावी सुरक्षा अवधारणा तयार पार्ने हो भने, यस क्षेत्रमा उल्लेख्य सुधारको अपेक्षा गर्न सकिन्छ

हवाईसेवा तुलनात्मकरूपमा अन्य यातायात सेवाभन्दा सरल, सुगम, सुरक्षित एवं भरपर्दो भएकै कारण विश्वभरी नै यसको प्रचलनमा अभिवृद्धि हुँदै गएको पाइन्छ । सुरक्षा संवेदनशीलताको गहनतालाई मध्यनजर राखी विशेष तयारीका साथ कुनै पनि गन्तव्य निर्धारण वा अवतरण गरिने हुँदा यस क्षेत्रको सुरक्षाको प्रत्याभूति अझ बढी मात्रामा सुरक्षित रहन गएको हो ।

संम्वेदनशील रहँदा–रहँदै पनि दुर्घटना भन्ने कुरा भवितव्य भएको हुँदा नेपाललगायत विश्वभरी नै यसको प्रकोप वेलाबखत देखिँदै आएको मात्र हो । त्यसो भएता पनि भैपरी अवस्थामा पर्न सक्ने सुरक्षा अवधारणालाई यात्रु महानुभाव समक्ष पस्कने जमर्को गर्ने हो भने सम्भावित आपतकालीन दुर्घटना जोखिमका क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्न सम्भव रहनेछ ।

यद्यपि मानवीय सुरक्षा नै हवाई सुरक्षा संवेदनशीलतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको हुँदा विशेष सावधानी अपनाउँदै तत् सम्बन्धी सुरक्षालाई गम्भीरतापूर्वक मनन गर्दै क्रमशः अघि बढ्ने प्रयास गर्नुपर्छ । जसका कारण निश्चित रूपमा हवाई दुर्घटनाका दरमा अस्वाभाविक रूपमा कमीआई सम्भावित ठूलो जनधनको क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ । यस सन्दर्भमा भन्नुपर्दा कतिपय अवस्थामा मानवीय त्रुटिका कारण अकल्पनीय दुर्घटनाको आहतलाई सामना गर्नुपर्ने हुन्छ ।

हवाई जोखिमको प्रमुख कारक तत्वका रूपमा मानवीय त्रुटीका अतिरिक्त प्राविधिक वा एकाएक पर्न आउने प्राकृतिक प्रकोपले पनि यस क्षेत्रमा नकारात्मक प्रभाव पारी दुर्घटना निम्त्याउने प्रबल सम्भावना रहन्छ ।नेपाली हवाई आकाशमा विगतका केही दशकहरूमा दुईवटा अन्तर्राष्ट्रिय स्तरका थाई एयरलाईन्स र पाकिस्थान एयरलाईन्सजस्ता ठूलास्तरका हृदयविदारक दुर्घटनाका अतिरिक्त कयाँ आन्तरिक दुर्घटनाको क्षति व्यहोर्नु परेको तथ्यलाई अन्यथा लिन मिल्दैन । यसबाट प्राप्त हुन आएको क्षतिलाई पाठका रूपमा लिँदै भावी सुरक्षा अवधारणा तयार पार्ने हो भने, यस क्षेत्रमा उल्लेख्य सुधारको अपेक्षा गर्न सकिन्छ । जे जस्तो अवस्थामा भए तापनि दुर्घटना टारेर टार्न सकिँदैन । यसका अतिरिक्त यस क्षेत्रमा आतकंवादी समूहद्वारा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीले थप सम्वेदनशील बन्न अभिप्रेरित गरेको छ ।

सुरक्षा अवधारणाभित्र हिजोआज विशेषगरी नेपाली आकाशमा अवतरण एवं उडानका वेला हुने गरेको ढिलाईले नौलो तरंग पैदा गर्ने गरेको छ । जसबाट अतिरिक्त जोखिमको मार एवं द्वन्द्वात्मक परिस्थितिले यस क्षेत्रलाई थप समस्याग्रस्त बनाएको छ भन्दा फरक नपर्ला ।

एक सुरक्षा आँकडाअनुसार कुनै पनि हवाई जहाजलाई आकाशमा होल्ड गराउँदा सम्भावित मानवीय एवं हवाई जोखिमको अत्यधिक मार वहन गर्नुपर्ने अवस्था तयार हुनेछ । उक्त प्रयोजनार्थ तुलनात्मकरूपमा अन्तर्राष्ट्रिय हवाई समुदायलाई राष्ट्रियस्तरको हवाई सेवाको दाजोमा बढी प्राथमिकतामा राख्ने गरी कम समयको लागि मात्र होल्ड गराउने प्रवृतिको विकास भएको हो कि भन्ने यस क्षेत्रको जानकारहरूको बुझाइमा रहेको छ ।

प्रस्तुत प्रवृतिको बेफाइदा भन्नु नै सम्बद्ध हवाई सेवा प्रदायलाई अतिरिक्त नोक्सानको घाटा व्यवसाय सहन गर्नुपर्ने बाध्यता हो । तसर्थः यस व्यवहारलाई न्यूनीकरण गर्न सके निश्चितरूपमा हवाई क्षेत्रको विश्वासमा अपार सफलता प्राप्त हुने थियो । हालै प्रकाशित एक तथ्यांकअनुसार विगत दुई महिनाको अवधिमा उक्त प्रयोजनको लागि मात्रै करिब–करिब २५ करोड रुपैयाँ बराबरको धनराशी नोक्सानी सहन गर्नु परेको थियो । यस तथ्य सार्वजनिक भएबाट हवाई सुरक्षा चुनौतीको जटिलतालाई आमजनमासले कुन रूपले हेर्ने हुन् भन्ने महत्वपूर्ण प्रश्नले यसको भावी सुरक्षा नीतिमा सकारात्मक पहलकदमीको सदैब खाँचो रहन्छ ।

तथापि ः हवाई जहाजलाई सकेसम्म कम समयको लागि मात्र आकाशमा होल्ड गर्नु परोस् भन्ने उद्देश्यअनुसार तल्लो तहमा रहेको जहाजलाई अवतरणमा पहिलो प्राथमिकता दिईने गरेको भन्ने भनाइ रही आएका छ । हवाई सुरक्षामा प्रत्यक्ष असर पुग्ने प्रस्तुत कार्य गराए वा नगराए वापत कुनै प्रकारको आर्थिक चलखेल हुन्छ वा हुँदैन भन्ने तथ्यलाई गहिरिएर अध्ययन गर्दै पारदर्शी तवरबाट कार्य गर्ने हो भने यस क्षेत्रमा सकारात्मक नतिजा हासिल गर्न सम्भव रहन्छ ।

परिणामतः अवतरणमा हुने ढिलाईले एकातिर महँगो शुल्क तिरेर वाह्य मुलुकबाट आयात गरिएको हवाई इन्धनको अतिरिक्त नोक्सानको साथै निर्धारित समय सीमा भित्रै आफ्नो गन्तव्यमा पुग्न सकिने हो वा होइन भन्ने थप मानसिक चिन्ता यात्रुवर्गमा थपिने हँुदा चारैतिरबाट सुरक्षा चुनौति थपिन जाने देखिन्छ । साथै सम्बद्ध सेवा प्रदायलाई अतिरिक्त जवाफदेही बन्नुपर्ने हुँदा थप संकट निम्तिने निश्चित प्रायः छ । प्रस्तुत अवस्थाबाट पार पाउन हवाई मैदानको विस्तार एवं स्तरोउन्नति गर्दै प्राथमिकताका आधारमा उडान भर्न र अवतरण गर्न अनुमति प्रदान गर्ने प्रावधानको विकासले हवाई दुर्घटना न्यूनीकरणको साथै मानवीय सुरक्षामा संवेदनशील रहन प्रत्यक्ष सहयोग पुग्नेछ ।

अन्य क्षेत्रको हवाई मैदानको तुलनामा काठमाडांैको मुटुमा रहेको हवाई मैदान सुरक्षा संवेदनशीलताको हिसाबले जोखिमले भरिपूर्ण रहेको छ । एकातिर अत्यधिक हवाई उडान अवतरणको चाप रहेको छ भने अर्कोतर्फ मानव बस्तीको बीचमा रहेको हुँदा थप जोखिममा पर्न सक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । त्यसो भएको हुँदा राज्यले गर्ने भनिएको अर्को वैकल्पिक हवाई मैदानको अबिलम्ब विकास बिस्तारको खाँचो टड्कारो रूपमा खड्किएको छ ।

जसले यस क्षेत्रमा थप सकारात्मक भूमिका निर्वाह गर्नेछ । यी सबै तथ्यलाई अध्ययन गर्दा सम्बद्ध क्षेत्रको सुरक्षाका लागि अपनाउनु पर्ने अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन रणनीतिक योजना सहितको कार्ययोजनालाई यथा समयमा नै लागू गर्न राज्य एवं सरोकारवाला अन्य पक्षले अविलम्ब चनाखो रही कार्यान्वयनको क्षेत्रमा विशेष पहलकदमी गर्नुपर्ने हुन्छ । जसको मुख्य उद्देश्य भनेको यात्रु एवं हवाई सेवा विचको सहसम्बन्धको विकासलाई विश्वासको कडीमा मापन गर्दै यस क्षेत्रमा रहेको अनेकन समस्याहरूबाट सहज रूपमा मुक्ति पाउनु नै हो ।

तसर्थः के कति कारणले ढिलाई एवं उडान प्रभावित भएको हो, भन्ने तथ्यको एकिन पहिचान गरी यात्रुमहानुभावलाई पर्न सक्ने कठिनाईबाट राहत प्रदान गर्नु नै वास्तवमा हवाईसेवा विश्वासको अभिवृद्धि गर्नु हो । हवाई ट्राफिक व्यवस्थापनमा भएको व्यवधानको कारण समस्या खडा हुने भए त्यसमा अविलम्ब सुधार गरी व्यवस्थित गर्नु पर्नेछ । मूल रूपमा यस प्रकारका गतिरोधले हाम्रो हवाई सेवाप्रति राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्रित रहने हुँदा, यस क्षेत्रमा रहेको कमी कमजोरीहरूको मूल्यांकन गर्दै हवाई क्षेत्रको साख उचो बनाउन सर्वपक्षीय सहयोगको सदैब खाँचो रहन्छ ।

प्रतिक्रिया