पलाँता गाउँपालिकालाई निःशुल्क शिक्षा घोषणा

कालिकोट । शैक्षिक गुणस्तर सुधार गर्न पलाँता गाउँपालिकाले पहलकदमी चालेको छ । जिल्लाको पलाता गाउँपालिकालाई जिल्लाकै पहिलो निःशुल्क शिक्षा घोषणा गरिएको छ । गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट कुनै पनि शुल्क नलिने भनी निर्णय गरे लगत्तै गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी निःशुल्क शिक्षा घोषणा गरिएको हो ।

विद्यार्थीले विद्यालयमा तिर्नुपर्ने शुल्कको व्ययभार गाउँपालिकाले नै लिने निर्णय गरेको छ । गाउँपालिकामा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि जिल्लामै पहिलोपटक गाउँपालिकाले सो निर्णय गरेको थियो । विद्यालयमा अध्ययरत विद्यार्थीले तिर्नुपर्ने शुल्क, रजिस्टेसन शुल्क, परीक्षा शुल्क, किताबलगायत गाउँपालिकाले निःशुल्क दिने भएको हो ।कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई वर्षमा करिब ३० हजार बराबरको शैक्षिक सामग्री वितरण गर्ने निणय गरेको हो ।

आधारभूत तहअन्तर्गत कक्षा १ देखि ८ सम्म नेपाल सरकारले निःशुल्क घोषणा गरेको भए पनि पलाता गाउँपालिकाले ९ कक्षादेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई समेत निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । निःशुल्क शिक्षा प्रदानका लागि गाउँपालिकामा चाहिने आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिसकेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि ६५ जना अनुदान कोटामा शिक्षकलाई नियुक्ति गरिसकेको छ ।

गाउँपालिकाले १४ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण गराइनुका साथै शैक्षिक सामग्री, कार्पेट, कुसन लगायतका सामग्रीसमेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले भने, ‘हामी शैक्षिक गुणस्तर वृद्धिमा लागेका छौँ । गाउँपालिकामा रहेका विद्यार्थीले आर्थिक अवस्था कमजोर भई विद्यालय जानबाट वञ्चित नहुन् भनी हामीहरूले शिक्षामा निःशुल्क गरेका हौँ ।’

पलाता गाउँपालिकाको आयोजना तथा रूपान्तरण नेपालको सहजीकरणमा भव्य कार्यक्रमको आयोजना गरी निःशुल्क शिक्षा घोषणा गरिएको हो । कार्यक्रममा उत्कृष्ठ विद्यालयका रूपमा गणेश आधारभूत विद्यालयलाई दुई लाख नगदसहित पुरस्कृत गरिएको छ । गाउँपालिकाले आफैँले अंग्रेजी माध्यम लागू गरेसँगै निजी विद्यालयलाई प्रतिबन्ध लगाएको छ ।

पलाता गाउँपालिकाका शिक्षा विभाग प्रमुख टक्कबहादुर बमको अध्यक्षता, प्रतिनिधिसभा सदस्य माननीय दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता, नेकपा कर्णाली प्रदेश सदस्य विष्णुबहादुर विकको विशेष आतिथ्यतामा कार्यक्रमको आयोजना गरी निःशुल्क शिक्षा तथा जापानी झोला वितरण गरिएको हो । झोला वितरणसँगै विद्यार्थीले हातमा किताब बोक्नु नपर्ने भएको छ । हातमा किताब बोकेर विद्यालय जाने बालबालिकाकाका किताव च्यातिने, हराउने डर कम भएको छ ।

गाउँपालिकाले उपलव्ध गराएका किताब राख्नका लागि झोलासमेत किन्न मुुस्किल हुने विद्यार्थीले झोला पाउँदा खुसी व्यक्त गरेका छन् । युमी नेपालले कर्णाली प्रदेशका बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि चार वटा स्थानीयतह छनोट गरेको हो । जसमा कालीकोटको पलाता गाउँपालिका, दैलेखको विन्दाशैनी नगरपालिका, जाजरकोटको भेरीगंगा गाउँपालिका र सल्यानको शारदा गाउँपालिका छनोट गरेको रुपान्तरण नेपालका अध्यक्ष मोहनबहादुर शाहीले सुनाए । उनले आपूmले फेसबुकमा धेरैको स्टाटस नकारात्मक देखेकाले युमी नेपाल जापानले नै सम्पूर्ण लगानी गरेकोसमेत स्पष्ट पारेका छन् ।

युमी नेपाल जापानका प्रतिनिधि. डा बाबुराम निरौलाले मायाको चिनो भएकाले सबैले जतन गरी राख्न आग्रहसमेत गरे । उनले विद्यार्थीका किताबकापी च्यातिनबाट बचाउनका लागि बालबालिकालाई नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि सहयोग गरेको सुनाए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विद्यार्थीको झोला मात्र परिवर्तन गर्न नलागेको बताए ।

उनले भने, ‘हामीले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि विद्यार्थीको चोला परिर्वतनतिर लागेका छौँ । यस पालिकालाई आमूल परिर्वतनको एजेन्डा लिएर अगाडि बढिरहेका छौँ । आगामी दिनमा विकासका दृष्टिकोणले कुनै कमि हुन दिने छैनौँ । हामीलाई नकारात्मक टीकाटिप्पणीले थप हौसला दिएकाले अगाडि बढ्न सहज भएको छ ।’

कार्यक्रममा प्रमुखअतिथिसमेत रहेका प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले हिजोको पलाँताभन्दा आजको पलाँता विकासका हिसाबले परिवर्तन भएको पाएँ, राजनीतिक दलमा एकमत हुन सकेन र विकास भएन भने साझा दुस्मनी हुनुका साथै विकास निर्माणका एजेन्डामा कमि आउने भन्दै सबै दलहरू मिलि विकास गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका कर्णाली प्रदेश सदस्य विष्णुबहादुर विकले समृद्ध नेपालको अभियानमा हामी एक ठाउँमा हुन आवश्यक रहेको बताउँदै भौगोलिक अवस्थालाई चिर्दै अगाडि जानुपर्ने र सिंगो पालिकालाई विकास निर्माणमा अग्रसर बनाउनसमेत आग्रह गरे ।

प्रतिक्रिया