प्रथम सूर्योदय महोत्सव–२०७६

इलाम । शनिबारदेखि इलामको सूर्योदय नगरपालिकामा ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ सुरु हुँदै छ । बुधबारसम्म सञ्चालन हुने पाँच दिने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महोत्सवमा पाँचै दिन नगरका विभिन्न ६ स्थानमा विविध कार्यक्रम हुनेछन् । ती कार्यक्रमहरूमा अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगसँगै कन्याममा रहेका घोडाहरूको सुन्दर घोडा प्रतियोगिताजस्ता कार्यक्रमसहित ४० वटाको हाराहारीमा कार्यक्रमहरू सञ्चालन गरिने सूर्योदय नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

महोत्सवको पहिलो दिन शनिबार बिहान सूर्योदयको दृश्यावलोकनसँगै सूर्यपूजा गरी अन्तुडाँडाबाट महोत्सव उद्घाटन गरिनेछ । त्यसपछि पञ्चकन्याको करफोक विद्या मन्दिरमा दिउँसो औपचारिक रूपमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईबाट महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शनिबार नै पशुपतिनगरमा सस्तो बजारको अवलोकनसँगसँगै पुष्प प्रदर्शनी र जातीय खाना प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

सूर्योदय नगरपालिका–१ को गोर्खेमा सिंहदेवी मन्दिर पूजा तथा धार्मिक मेला आयोजना गरिएको छ भने कन्याममा चार वटा कार्यक्रम तय गरिएको छ । त्यहाँ बिहान डिछ्याप छेवाङ बौद्ध गुम्बामा पूजा, दिउँसो चंगा चेट, देउराली हाइक र साँझ डम्फू साँझ सञ्चालन गरिने भएको छ । देउराली हाइक र डम्पूm साँझ महोत्सवका पाँचै दिन कन्याममा सञ्चालन गरिने नगरप्रमुख राईले जानकारी दिए ।

आइतबार फिक्कलमा टि टेस्टिङ तथा लघु उद्यम प्रदर्शनी कार्यक्रम, विद्यार्थी संलग्न अन्तर विद्यालय सांस्कृतिक कार्यक्रम, पञ्चकन्यामा परम्परागत वस्तुहरूको अवलोकनका लागि स्टल, श्रीअन्तुमा फुड र फुडस्टल राखिनेछ । अन्तुमै रहेको अन्तुपोखरीमा महोत्सव अवधिभर फिसिङ कार्यक्रम छ । पर्यटकले ५० रुपैयाँ तिरेर १५ मिनेटसम्म बल्छीको सहायताबाट माछा पार्न पाउनेछन् । अन्तुमै रहेको नेपालकै एक मात्र लाप्चा संग्रहालयमा महोत्सव अवधिभर लाप्चाका सांस्कृतिक सामग्रीहरूको अध्ययन अवलोकन गर्न पाइनेछ ।

मंगलबार श्रीअन्तुमा देवघाट कविता प्रतियोगिता, पशुपतिनगर र गोर्खेमा वृहत सांस्कृतिक कार्यक्रम, गोर्खेमा रेडपाण्डा ट्रेल भनेर रेडपाण्डाको अवलोकन, पशुपतिनगरको मेहेलबोटेस्थित कृष्णप्रणामी मन्दिर, तीनतले झरना, नेपालकै दोस्रो गोर्खेको जलविद्युत आयोजना, करिप्पाव ध्यानस्थल, गोर्खे मानेभञ्ज्याङ र थुम्केको अवलोकन कार्यक्रम पनि आयोजना गरिएको छ ।

कन्याममा आइतबार सुन्दर घोडा प्रतियोगिता सञ्चालन गरिने भएको छ भने फिक्कलमा नाटक र फिल्म प्रदर्शनी राखिएको छ । फिल्म प्रदर्शनी पनि महोत्सवभर सञ्चालन हुने जनाइएको छ । त्यस्तै महोत्सवभरी विभिन्न खेलकुदका कार्यक्रम, आँखा शिविर, रक्तदान कार्यक्रम र बृहत् सांस्कृतिक कार्यक्रम रहनेछन् । संघीय सरकाले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत गरी पाँच लाख बढी पर्यटकहरू आउने आयोजकको अपेक्षा छ । महोत्सव मूल आयोजक समितिकी संयोजकसमेत रहेकी नगर उपप्रमुख दुर्गादेवी भट्टराईले भनिन्, ‘महोत्सव अवधिमा सूर्योदय नगरपालिकामा पाँच लाख जना पर्यटक आवतजावत गर्ने अपेक्षा गरेका छौँ ।’ महोत्सवका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

इलामको प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूर्योदय नगर एक प्रमुख हो । सूर्योदय प्रदेश सरकारले घोषणा गरेको प्रदेश–१ को एक मात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको एक सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो । इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थानहरू यसै नगरमा पर्दछन् । यो नगर अर्थोडक्स चिया, अदुवा, अलैंची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन (दूध) गरी सात ‘अ’ को नगरका रूपमा परिचित समेत छ ।

पर्यटकहरूलाई खाना र बस्नका लागि पर्याप्त होटल र लजको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । महोत्सव सञ्चालनस्थल वडा–१ देखि १२ सम्मका विभिन्न ठाउँहरूमा १ सय ५९ होटल लज तथा होमस्टे रहेका छन् । ती होटल र होमस्टेमा रहेका ८ सय २२ वटा कोठा (लज) हरूमा ३ हजार ८ सय ७४ जना मानिसलाई वास राख्न सकिने नगरपालिकाले जनाएको छ ।

यस्तै महोत्सवमा आउने पर्यटकहरूको सहजताका लागि नगरपालिकाले कल सेन्टरको स्थापना गरेको छ । पर्यटकहरूलाई विभिन्न क्षेत्रमा भ्रमणका लागि तथा खान र बस्नका लागि असहज नहोस् भनी टोल फ्रीमार्फत जानकारी गराउने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

वास बस्ने गरी आएका पर्यटकका लागि महोत्सव आयोजना स्थल (श्रीअन्तु, समाल्बुङ, कन्याम, फिक्कल, करफोक पञ्चकन्या, गोर्खे, पशुपतिनगर) मध्ये कुनै ठाउँमा वास बस्ने ठाउँ छ या छैन भन्ने जानकारी लिएर खाली भएको ठाउँमा लानेसम्म व्यवस्थापन गरिने भट्टराइले बताइन् । त्यसका लागि नगरपालिकाले १६६०२७५२२२२ मार्फत सेवा दिने भएको छ । त्यो बाहेक ०२७५४०५८३ नम्बरको टेलिफोन पनि २४ घण्टा अपडेट हुनेगरी सूचना केन्द्रमा व्यवस्थापन गरिएको उपप्रमुख भट्टराईको भनाइ थियो । महोत्सवमा आउने पर्यटकका लागि सहजताका लागि नगरपालिकाले सबै होटलमा दररेट (मेनु) राख्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया