धारो छ, पानी छैन

कालिकोट । शुभकालिका गाउँपालिका–२ छेलाहाल्नास्थित श्री भैरव आधारभूत विद्यालयका विद्यार्थी पानीको अभावमा तड्पिएका छन् । विद्यालयमा पानीको धारो मात्र बनेको छ । तर, पानी भने कैले आउने हो थाहा छैन भन्दै यस विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीले पानीको समस्या भोगिरहेको बताएका छन् ।

कक्षा १ मा अध्ययनरत छात्रा शान्ति विकका ओठ पानी नपाई सुकेका थिए, हतारहतार पानीको खोजीमा रहेकी उनी उकालोको बाटो स्यास्या गर्दै माथि सडक छेउमा रहेको पानीको धारामा पानी खान आइन् । शान्ति मात्र हैनन् यस विद्यालयमा अध्ययनरत संगीता विकको पीडा यस्तै छ । सबै विद्यार्थीहरू पानी र शौचालय प्रयोग गर्न नपाउँदा निराश देखिन्छन् । विद्यालयमा बालमैत्री धारा हुनुपर्ने, पानीको व्यवस्था हुनुपर्ने, शौचालय सरल र सहज हुनुपर्ने भए पनि यस विद्यालयका सबै शिक्षक, विद्यार्थी अभिभावकलाई यस्ता विषयमा कुनै चासो नदेखाएजस्तोे देखिन्छ ।

धारो टाढा हुँदा विद्यार्थीहरूलाई अध्ययनमा समस्या हुने गरेको अभिभावकहरूले सुनाए । विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर शाहीले भने, ‘धारो बन्यो तर पानी कहिल्यै आएन । स्थानीय तहमा जनप्रतिनिधि आउँदा अनेक समस्या समाधान होलान सोचेका थियौँ तर विद्यालयमा पानी छैन, पानी नहुँदा शौचालय प्रयोगविहीन अवस्थामा छन् । कक्षा ३ सम्म सञ्चालन रहेको भैरव आधारभूत विद्यालयका ८२ जना विद्यार्थी, कार्यालय सहयोगीसहित चार शिक्षक सबै जनालाई विद्यालयमा पानी र शौचालयको समस्या देखिएको हो । समस्यै समस्याको चपेटामा परेको उक्त विद्यालयलाई सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग गर्ने बहानामा धेरै रकम दुरुपयोग भएको स्थानियको आरोप छ ।

यसबारे शुभकालिका गाउँपालिका–२ का वडाध्यक्ष मनबहादुर शाहीसँग बुझ्दा यस विद्यालयमा तत्कालै वडा सरकारबाट बजेट विनियोजन गरी खानेपानीको समस्या हल गर्ने बताएका छन् साथै शाहीले पाँच किलोमिटर टाढा पानीको मुहान रहेकाले पानीको समस्या भएको बताउँदै अव तत्कालै धारो निर्माणसँगै पानीको व्यवस्था गर्ने बताए । गाउँपालिका अध्यक्ष खडानन्द चौलागार्इंले यस पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरूको अवस्था बुझी समस्या समाधानतिर लाग्ने र पालिका सरकारबाटै रकम विनियोज गर्ने बताएका छन् ।

प्रतिक्रिया