खोजखबर

श्रमदान गरेर पदमार्ग निर्माण

सौर्य अनलाइन २०७६ मंसिर १२ गते ८:१३ मा प्रकाशित

दमौली । जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासीले ४५ दिन श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पुग्न स्थानीयवासीले श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन् । भीमाद नगरपालिकाले पदमार्ग निर्माणका लागि पाँच लाख बजेट विनियोजन गरेकोमा स्थानीयवासीले श्रमदानमार्फत् १५ लाखभन्दा बढीको काम गरेको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिए । आलेका अनुसार पदमार्ग निर्माणका लागि यहाँका ५० भन्दा बढी स्थानीयवासी दैनिकरूपमा खटिएका थिए ।

श्रमदानमा नआउने स्थानीयवासीलाई जरिवाना गरिएको आलेले जानकारी दिए । ‘दैनिक श्रमदानमा नआउनेलाई दिनको पाँच सय जरिवानाको निर्णय गरिएको थियो,’ आलेले भने, ‘श्रमदानमा नआउने केही स्थानीयवासीलाई जरिवाना पनि तिरायौँ ।’ पदमार्ग निर्माणको क्रममा निर्माण सामग्री स्थानीयवासीले बोकेरै पु¥याएका थिए । झरनासम्म पुग्न मोटरमार्ग नरहेकोले निर्माणका सामग्री बोकेरै पु¥याइएको आलेले बताए ।
इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुंगाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङसमेत हालिएको छ । ७७ मिटर भागमा ढुंगा छापेर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिए । ‘पदमार्ग निर्माणका लागि स्थानीयवासीले श्रमदानमा खटिएर ठूलो सहयोग गर्नुभयो,’ वडाध्यक्ष थापाले भने ।

उक्त झरनामा व्यावसायिकरूपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ मा पनि १० लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरिद गरिने छ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेञ्जिङ रूम निर्माण गर्ने तयारी थालिएको थापाले बताए ।

थापाका अनुसार झरनामा व्यावसायिकरूपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालिम सञ्चालन गरिनेछ । ‘झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ,’ उनले भने, ‘अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङसम्बन्धी तालिम दिने सोचमा छाँै ।’ ४० मिटर अग्लो झरनामा गत मंसिर १६ गते सफल परीक्षण भएको थियो ।

झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास सुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो । यहाँका दश घरमा घरवास सञ्चालनमा छ । उक्त घरवासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् ।

स्वच्छ वातावरण, चराचुरुंगीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मंसिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीयवासी दिलबहादुर थापाले बताए । थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्याधी नलागोस् भनेर परम्परागतरूपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ । उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दुरीमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय