रहेनन् कसजू

काठमाडौं । बाल साहित्यकार तथा पत्रकार विनय कसजूको ७२ वर्षको उमेरमा मंगलबार दिउँसो २ बजे निधन भएको छ । निमोनिया, मधुमेहलगायतका रोगबाट पीडित कसजूको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको केही दिनअघिदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । निमोनियाका कारण गम्भीर बिरामी भई सुरुमा आइसियुमा भेन्टिलेटर राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आएपछि वार्डमा सारिएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियुमै राखेर उपचार गर्नेक्रममा निधन भएको थियो ।

बालसाहित्यमा विशेष दख्खल राख्ने कसजूले दर्जनौँ किताब लेखेका छन् । उनले गाउँले जनजीवनका लागि उपयोगी देउराली गाउँले भित्तेपत्रिका निकालेर नेपालमा ग्रामीण पत्रिकाको सुरुवात् गरेका थिए । कसजू राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, राष्ट्रिय समाचार समिति (रासस) का लागि पूर्वसञ्चालक समिति सदस्य लगायतमा रहेर काम गरेका थिए । नेपाल प्रेस काउन्सिल, राष्ट्रिय सूचना आयोग लगायतका संस्थामा रहेर उनले पत्रकारिता क्षेत्रमा योगदान दिएका थिए ।

कसजूका बालकथा लेखन, बालबालिकामा पढ्ने बानीको विकास, स्विडेनको बालसाहित्य, बालकथा सम्पादन, कसजूका १०० बालकथाहरू, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायत ३७ भन्दा बढी पुस्तक प्रकाशित छन् । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष रहेका कसजू नेपाली साहित्यमा लघुकथा लेखनबाट आफ्नो उपस्थिति जनाएका थिए । त्यसपछि उनी बालसाहित्यको लेखन तथा प्रवद्र्धनमा लागेका थिए । पत्रकारिता र बालसाहित्यको क्षेत्रमा निरन्तर सक्रिय कसजू २००४ सालमा पाल्पाको तानसेनमा जन्मिएका थिए ।

प्रतिक्रिया