सागको सुरक्षामा १४ हजार सुरक्षाकर्मी

काठमाडौं । नेपालमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाको केन्द्रीय कमान्ड नेपाल प्रहरीले गरेको छ भने त्यसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना पनि छ । काठमाडौं, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा खेलकुद प्रतियोगिता हुनेछ । मंसिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिताका लागि सुरक्षा तयारी पूरा भइसकेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

सागको सुरक्षा व्यवस्थापनका लागि उपत्यकामा मात्रै १० हजार बढी नेपाल प्रहरी र चार हजारभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालन हुनेछ । यसबाहेक थप मद्दतका लागि अर्को टोली तयारी अवस्थामा रहनेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले अन्य सुरक्षा निकायको सम्वन्यमा खेलाडी, अतिथि, अफिसियलको सुरक्षामा खटिने बताए ।

सागमा आयोजक राष्ट्र नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र भुटानका गरी ३२ सय बढी खेलाडी, २२ सय बढी अफिसियल, निर्णायक मण्डल सहभागी हुने बताइएको छ । नेपालबाट विभिन्न विधाका पाँच सय ६० खेलाडीले प्रतिनिधित्व गर्नेछन् । साग खेलकुदमा अफगानिस्तान भने सहभागी छैन ।

भारत र पाकिस्तानले क्रिकेट र फुटवलमा सहभागिता नजनाउने बताइसकेका छन् । उपत्यकाका बाहिर पनि सुरक्षा निकायको सम्वन्यमा जनशक्ति परिचालन हुनेछ । डीआईजी पोखरेलले खेलाडी बस्ने होटेलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए । डीआईजी पोखरेलले भने, ‘हामीसँग विदेशी उच्च पाहुनादेखि भिभीआईपीसम्मको सफल सुरक्षा परिचालन गरेको कयौँ अनुभव छन् । हाम्रो देशका हुन लागेको ऐतिहासिक खेल प्रतियोगिता सुरक्षाका हिसाबले पूर्ण सफल बनाउँछौँ । कुनै प्रकारको सुरक्षा अवरोध आउन दिदैनौँ ।’

साग खेलकुदलाई नै मध्यनजर गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापन समेत बलियो बनाइएको छ । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीम ढकालका अनुसार नियमित जनशक्तिबाहेक साग अवधिमा ७ सय ट्राफिक प्रहरी सवारी र सडक सुरक्षा÷व्यवस्थापनमा परिचालन हुनेछन् । एसएसपी ढकालले भने, ‘खेलाडी जाने रूट, बस्ने होटलदेखि खेलमैदान वरपरको सवारी व्यवस्थापनका लागि योजना बनाएका छौँ । यसबाहेक आम नागरिकलाई पनि सहयोग गर्न आग्रह गर्छौं ।’ उपत्यकाको ट्राफिक व्यवस्थापनका एसएसपी ढकाल आफैँ सक्रिय हुनेछन् ।

सागको उद्घाटन काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले गर्नेछिन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार मंसिर १५ गते साँझ ३ घण्टा चल्ने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्नेछन् । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग १३ औँ संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको हो । यसअघि दोस्रो पटक नेपालले सन् १९९९ मा साग आयोजना गरेको थियो ।

प्रतिक्रिया