प्रदेश तीनको राजधानी र नाम छिटो टुङ्ग्याउन प्रचण्डको आग्रह

हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको अध्यक्ष दाहालले बताए ।उनले कतिपय कानून बनिसकेको र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताउँदै नेपालको विकासको गति सन्तोषजनक रहेको अन्तर्राष्ट्रिय एजेन्सीले बताइरहेको समेत बताए ।

आसन्न उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै उनले अब आफूले अली बढी पार्टी र सङ्गठनमा जोडबल दिने भनी गरिएको निर्णयानुसार उपनिर्वाचन भएको स्थानमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रति जनता सकारात्मक देखिएकोले परिणाम फेरि नेकपाकै पक्षमा हुने विश्वास व्यक्त गरे । संविधानमा उल्लेख भएअनुसारको समाजवाद निर्माण गर्न नेकपाका दुवै अध्यक्षले भूमिका खेलिरहेको पनि उनले जनाए ।

प्रतिक्रिया