जुवातास र क्यारामबोर्ड खेल्न प्रतिबन्ध

इलाम । जिल्लाको फाकफोकथुम गाउँपालिकाले जुवातासजन्य खेल र क्यारमबोर्ड खेल्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाको केन्द्र आमचोक तथा कुनै पनि सार्वजनिक संस्थाको दुई सय मिटर आसपासका क्षेत्रमा खेल खेल्न प्रतिबन्धको घोषणा गरेको हो ।  सोमबार घरेलु हिंसाविरुद्ध १६ दिने अभियानको उद्घाटन गर्दै गाउँपालिकाले त्यस्तो घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाको केन्द्र तथा सार्वजनिक संस्थाको दुई सय मिटर आसपासमा जुवाजन्य तथा क्यारामबोर्ड खेल खेल्न प्रतिबन्ध लगाएको उद्घोष गरे । ‘जुवातास लगायतका खेल खेल्ने वरपरको समाज पनि फोहोरी र पछिपरेको उदाहरण छ,स अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले जुवाजन्य र क्यारामबोर्डमा प्रतिबन्ध लगाएका हौँ । यसमा सबैको साथको अपेक्षा गरेका छौँ ।

‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धतास भन्ने मूल नाराका साथ फाकफोकथुम गाउँपालिकामा घरेलु हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको हो । फाकफोकथुम गाउँपालिका कार्यालयबाट प्ले कार्ड, ब्यानर बोकेर सुरु भएको ¥याली शुक्रबारे बजार, प्रहरीचौकी, सिंहदेवी देवस्थल, सिंहदेवी मावि हुँदै पुनः गाउँपालिकामा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, सिंहदेवी, ह्यारोपोइन्ट एकाडेमीका शिक्षक विद्यार्थी, गाउँपालिकाका कर्मचारी, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष श्रेष्ठले सबैको सोच परिवर्तन गरेर सकारात्मक कुरा गरेर घरबाटै हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा समेत जोड दिए । महिलाले पुरुष र पुरुषले महिलालाई हिंसा गर्न नहुने बताउँदै उनले अभियानलाई नारामा मात्र सीमित नराखेर व्यवहारमा उतार्न र समृद्ध फाकफोकथुम निर्माणका लागि अभियान सुरु गर्न आग्रहसमेत गरे ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको मूल समारोह समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले छाउपडी प्रथा, बलात्कार, महिला हिंसाजस्ता कुसंस्कारलाई अन्त्य गर्दै समतामुलक समाज र राष्ट्र निर्माणमा आजको दिनले प्रेरणा मिल्ने बताइन् । अधिकार मात्र खोज्ने तर कर्तव्य बिर्सने हो भने त्यसको कुनै औचित्य नहुने बताउँदै अधिकार र कर्तव्य सँगसँगै निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

क्यारामबोर्ड, जुवातास खेलेर घरपरिवार, धन खेर फाल्नुभन्दा खेलेर समय बिताउने युवाहरूलाई विकास निर्माणमा लाग्न र त्यसका लागि गाउँपालिकाले पनि सहयोग गर्ने उनले बताइन् । गाउँपालिकाको सहयोगमा विद्यालय–विद्यालयमा गएर प्रहरीसँगको साझेदारीमा किशोरीहरूलाई लंैगिक हिंसा विरुद्धको बारेमा सचेतना फैलाउने कार्यक्रम गाउँपालिकाले तय गरेको उनको भनाइ थियो ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको औचित्य र कार्यक्रमको अभियानबारे प्रष्ट पारे । गाउँपालिकाका सबै वडामा २४ मंसिरसम्म १६ दिने अभियान सञ्चालन हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया