बाघको छालासहित ६ जना पक्राउ

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट पाटे बाघको छालासहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गजुरी गाउँपालिका–३ का राजेन्द्र तामाङ, भाइराम प्रजा, ज्ञानबहादुर विक, आशिष तामाङ र बेनिघाट रोराङ गाउँपालिकाका सन्त तामाङ, कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीले उनीहरूलाई गोप्य सूचनाको आधारमा वालसिंङ भन्ने ठाउँबाट हाइवेतर्फ बोकी ल्याइरहेको अवस्थामा तीन वटा मोटरसाइकलमा सवार ६ जनालाई खानतलासी गर्दा बा १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मो.सा.पछाडि सवार राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई राखेको अवस्थामा ७ फिट २ इन्च लम्बाइ, १ फिट ३ इन्च चौडाइ भएको एक थान पाटे बाघको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

प्रहरी उपरीक्षक बैदवारका अनुसार प्रहरीलाई बेचविखन गर्ने उद्देश्यले बाघको छाला ओसारपसार हुँदैछ भन्ने गोष्य सूचनाको आधारमा प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त टोलीले पक्राउ गर्न सफल भएका हुन् । पक्राउ गरिएकाहरूलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिकसमेत गरिएको छ ।

वालसिंह भन्ने ठाउँबाट राजमार्गतर्फ मोटरसाइकलमा बोकी ल्याइँदै गरेको अवस्था पक्राउ गरिएको प्रहरी उपरीक्षक बैदवारले बताए । प्रहरीले बाघको छालासहित उनीहरू सवार बा १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नम्बरको मोटरसाइकलका साथै उनीहरूले प्रयोग गरिएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । पक्राउ गरिएको बाघको छाला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया