पीडितलाई न्याय दिनुपर्नेमा जोड

नेपालगञ्ज । जिल्लास्तरमा रहेका मानवअधिकारका विभिन्न सवाललाई पहिचान गरी पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइएको छ । मानव अधिकारको क्षेत्र फराकिलो भेग क्षेत्र भएकाले यसभित्र पनि गहन अध्ययन गरी पहिचान भएका सवालमा वकालत गर्नुपर्ने जोड दिइएको थियो ।

‘पारस्परिक जावफदेहिताः मानव अधिकार सुदृढीकरण परियोजना’ अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको मानवअधिकारको अवस्था, सवाल र पहलका विषयमा अन्तरक्रिया कार्यक्रमका सहभागीले मानवअधिकारको संरक्षण तथा सम्वद्र्धनमा सबैको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा प्रदेश–५ का कृषि वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले मानवअधिकार हननका घटनाहरू समाजमा भइरहेकाले यस्ता घटना निर्मुल पार्न सबैले आआफ्नो तर्फबाट लाग्नुपर्ने भन्दै तीन वटा सरकारको बीचमा समन्वयको कमी रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागार्इंले मानवअधिकारका विषयमा सम्बोधन गर्नका लागि सबैले साझा अभियानका रूपमा लिनुपर्ने र यस विषयमा सबै पक्षबीच नियमित रूपमा छलफल, गर्नुपर्नेमा जोड दिए । नेपाल बार एसोसिएसनका बरिष्ठ उपाध्यक्ष सुनील श्रेष्ठले नेपालका ऐन कानुनहरू उत्कृष्ट नै भएता पनि कार्यान्वयन प्रक्रियामा चुनौती रहेको भन्दै जबसम्म सोच र दृष्टिकोण परिस्कृत हुँदैन तबसम्म पीडितले न्याय नपाउने बताए ।

सुकुम्बासी अभियन्ता रेशम गिरीले राज्य संयन्त्र र अधिकारकर्मीले सुकुम्बासी व्यवस्थापन गराउन, सत्य निरुपण आयोगलाई क्रियाशील बनाउन, बेपत्ताहरूको खोजतलासजस्ता सवाललाई उठान गर्नुपर्नेमा जोड दिए । बर्दिया बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले नेपालको उत्कृष्ट संविधान भएका र पितृसत्तात्मक समाज र सांस्कृतिक परम्पराले कानुनको कार्यान्वयनमा समस्या देखिएको बताए ।

कार्यक्रममा डुडुवा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शाहिदा बानो, नेपाल बार उच्च अदालत नेपालगन्जका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष मोहमद अयुब सिद्दिकी, कानुन व्यवसायी प्रह्लादबहादुर कार्की, अधिकारकर्मी मोहम्मद शेर बागवान, भोला महत, रुवी खान, कृष्णा पाण्डे, सुरेन्द्र कार्की शोभा बिसी, पत्रकार निरज गौतम, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंह लगायतले मानवअधिकारका सवालमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा एफएचआई ३६० का मानवअधिकार सल्लाहकार सन्तोष सिग्देलले राष्टियस्तरमा मानवअधिकारको अवस्था र कानुनको कार्यान्वयनका बारेमा र संस्थाका अध्यक्ष विश्वजित तिवारीले जिल्लास्तरमा मानवअधिकारको अवस्था, सवालका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया