मन्त्रिपरिषद् हेरफेरः ८ बर्खास्त, ९ नयाँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अबेर मौजुदा मन्त्रिपरिषदलाई पुनर्गठन गरेका छन् । मन्त्रिपरिषद् हेरफेरका क्रममा ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले राष्ट्रपति कार्यालयले बुधबार साँझ मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको जनाएको छ । मन्त्रीहरुको बिहीबार विहान सपथग्रहण हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्री बनाएका छन् भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाएका छन् ।

मन्त्रालय फेरबदल गरेकोमा भारत भ्रमणमा रहेका मन्त्री यादव रुष्ट भएको स्रोतले जनाएको छ । समाजवादी पार्टीको हालै बसेको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेको स्रोतको भनाइ छ ।

यस्तै प्रधानमन्त्री ओलीले श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डित, भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यसै गरी पूर्व माओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

नयाँ मन्त्री
प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् ।

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । यसै गरी रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओलीले राज्यमन्त्रीमा तीन जनालाई नियुक्त गरेका छन् । मोती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पनि यथावत राखिएकाे छ ।

प्रतिक्रिया