बलिउडमा वेदिका

मुम्बई । दक्षिण भारतीय अभिनेत्री वेदिका कुमार बलिउड प्रवेश गर्ने भएकी छन् । उनी ‘द बडी’ चलचित्रमार्फत् बलिउड इन्ट्री गर्न लागेकी हुन् । जीतु जोसेफले निर्देशन गरेको उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा इमरान हाशमी रहेका छन् । जीतु २०१३ मा प्रदर्शित ‘दृश्यम्’ को निर्देशन गरेका थिए ।

दक्षिण भारतीय चलचित्रका थुप्रै अभिनेत्री बलिउडमा प्रवेश गर्नेक्रम बढिरहेको छ । तीमध्ये केही अभिनेत्री निर्माता निर्देशकको मात्रै नभई दर्शकको रोजाइमा समेत परेका छन् । अभिनेत्री वेदिका पनि बलिउडमा प्रवेश गरेसँगै दर्शक स्रोताको रोजाइमा पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हुन त वेदिका दक्षिण भारतीय चलचित्रमा चर्चित नाम हो । उनले मलयालम, तेलुगु, तमिललगायतका भाषामा बनेका चलचित्रमा अभिनय गरेकी छन् । बलिउड प्रवेशका बारेमा अभिनेत्री वेदिका भन्छिन्, ‘म राम्रो प्रोजेक्टको पर्खाईमा थिएँ । ‘द बडी’ मेरो लागि ठीक लाग्यो ।’ दक्षिण भारतीय चलचित्र उद्योगमा वेदिका आकर्षक लुक तथा हट ड्रेससेन्सका कारण पनि सबै माझ परिचित छन् । उनले भनिन्, ‘इमराम निकै ट्यालेन्ट अभिनेता हुन् । उनीसँग काम गर्न पाउँदा निकै खुसी छु ।’ उनी तमिलका साथै मलयालम, तेलगु, हिन्दी, अंग्रेजीलगायतका भाषामा दख्खल राख्छिन् ।

प्रतिक्रिया