मध्यपहाडी लोकमार्गको काम तीव्र गतिमा

काभ्रे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत काभ्रे छोएका सडकखण्डहरूका कामको समयसीमा सकिँदै गएको छ । काभ्रे जिल्लाअन्तर्गत भुम्लु गाउँपालिका वनदेउदेखि भुम्लुटार, कोलाती हुँदै चौरी देउराली गाउँपालिकाको बिर्तादेउराली, मादन कुँडारी, कात्तिके देउरालीको बोक्सेमा पुगेर रामेछाप जिल्लाको गुन्सी भदौरेमा पुगेर उक्त ट्रयाक जोडिँदै छ ।

काभ्रे जिल्लामा ४८ किलोमिटर सडकको काम भइरहेको आयोजनाले जनाएको छ । तीन खण्डमा राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल राजमार्गको काम भइरहेको छ । काभ्रे जिल्लामा वनदेउबाट पौवा डाँडासम्म उक्त राजमार्गको पाँच किलोमिटर हालसम्म ६० प्रतिशतभन्दा बढी काम भएको आयोजनाका सूचना अधिकारी ईश्वर कार्कीले बताए । उक्त निर्माण कम्पनीले ०७६ फागुन महिनासम्म काम सक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

त्यसैगरी काभ्रे जिल्लाको दोस्रो खण्ड भुम्लु गाउँपालिकाको पौवा डाँडा हुँदै फलाटे, कोलाती, चौरी देउराली गाउँपालिकाको पाटीगैह्रासम्म १८ किलोमिटर सडक अहिले ७० प्रतिशतभन्दा बढी प्रगति भइरहेको आयोजनाले जनाएको छ । त्यसैगरी काभ्रे जिल्लाकै तेस्रो खण्ड पाटीगैह्रा, बिर्ता, जखाडी, आरुबोट, दोभानटार, हुँदै कातिके देउरालीको बोक्सेसम्म २५ किलोमिटर मोटरबाटोे हालसम्म ९५ प्रतिशतभन्दा माथि प्रगति भएको छ ।

काभ्रे जिल्लाको मध्यपहाडी पुष्पलाल लोकमार्ग खण्डमा ग्राभेल स्टान्डर्ड मोटरबाटो, बाटोको चौडा साढे आठ मिटर, नाली, टेवा पर्खाल, कुलेसा, हिमपाइपको काम हुने आयोजनाले जनाएको छ । पछि उक्त मोटरबाटो साढे सात मिटर कालोपत्रे पनि गरिनेछ । मध्य पहाड क्षेत्रबाट बसाइँसराइ रोक्न, जनस्तरबाट उत्पादित कृषि उत्पादनलाई बजारसम्म पु¥याउन उक्त मोटरबाटोले सहयोग पु¥याउनेछ ।

आफ्नै घरछेउमा राजमार्गस्तरको मोटरबाट आएपछि काभ्रे जिल्लाको वनदेउ, भुम्लुटार, फलाटे, कोलाती भुम्लु, बिर्ता देउराली, गोठपानी, मादन कुडारी, कात्तिकेदेउरालीका स्थानीय जनता खुशी भएका छन् । काभ्रे कोसीपारीको तल्लो बेल्टबाट गएको लोकमार्गको लाभ काभ्रे कोसीपारीको माथिल्लो बेल्टका जनताले पनि लिन सक्नेछन् ।

सो लोकमार्ग मुलुकको पूर्व–पश्चिमसम्म जोड्ने तेस्रो निर्माणाधिन सडक हो । १ हजार ७ सय ७६ किलोमिटर लम्बाइको सो राजमार्ग हुने भनिएको सो लोकमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिने बताइएको छ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्ने ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छोएर जाने बताइँदै आएको छ ।

आव ०६४÷६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्यपहाडी राजमार्गको रेखांकन प्रस्ताव ०६५ फागुन २६ को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया