प्रधानमन्त्रीले भने, मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी मन्त्रीलाई गराएका छन् । पुनर्गठनको अन्तिम तयारीमा रहेका बेला मंगलबार साँझ बोलाएको मन्त्रिपरिषद् बैठकमा उनले सो जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्का नियमित काम सकेपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई सम्बोधन गरेका थिए । उनले बुधबार राजधानी बाहिरको कुनै पनि कार्यक्रममा नजान आग्रह गरेका छन् । ‘कोही पर्नु होला, कोही नपर्नु होला । भोलि म मन्त्रिपरिषद् हेरफेर गर्दै छु,’ प्रधानमन्त्रीले बैठकमा भनेको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद । भोलि तपाईंहरू कसैले औपचारिक कार्यक्रम नराख्नुहोला ।’ बैठकमा को–को मन्त्री रहने, को हट्ने भन्नेबारे भने प्रधानमन्त्री ओलीले कुनै जानकारी नदिएको ती मन्त्रीले बताए ।

यद्यपि प्रधानमन्त्री ओलीले यसविषयलाई अन्यथा नलिन पनि आग्रह गरेका छन् । उनले पार्टी स्थायी भएको तर, पदहरू अस्थायी भएकाले जहाँ भए पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकारलाई गरेको सहयोगप्रति पनि मन्त्रीहरूलाई धन्यवादसमेत दिएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्रीका लागि यो नै अन्तिम मन्त्रिपरिषद्को बैठक जस्तै गरी सम्बोधन गरेका थिए ।

यसैबीच मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल गर्न नेकपाले बुधबार बिहान सचिवालयको बैठक बोलाएको छ । बैठकमा नयाँ मन्त्रीको नाम अनुमोदन हुने बताइएको छ । अब बन्ने मन्त्रीमा विशेष गरी नयाँ अनुहारलाई समावेश गर्ने तयारी भएको छ । मन्त्रिपरिषद्का सदस्य हेरफेरका विषयमा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग लामो समयदेखि निरन्तर छलफल गर्दै आइरहेका छन् ।

प्रतिक्रिया