मध्यपहाडी लोकमार्गको काम तिव्र गतिमा

                                                                                  तस्बिर शुकदेव थपलिया

काभ्रे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल राजमार्ग अन्तर्गत काभ्रे छोएका सडक खण्डहरुका काम समयमै सकिने भएको छ ।काभ्रे जिल्ला अन्तर्गत भुम्लु गाउँपालिका वनदेउ देखि भुम्लुटार, कोलाती हुँदै चौरी देउराली गाउँपालिकाको बिर्ता देउराली, मादन कुँडारी, कात्तिके देउरालीको बोक्सेमा पुगेर रामेछाप जिल्लाको गुन्सी भदौरेमा पुगेर उक्त ट्र्याक जोडिदै छ ।

काभ्रे जिल्लामा ४८ किलो मिटर सडकको काम भैरहेको आयोजनाले जनाएको छ । तीन खण्डमा राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल राजमार्गको काम भइरहेको छ । काभ्रे जिल्लामा वनदेउबाट पौवा डाँडासम्म उक्त राजमागको ५ किलोमिटर हालसम्म ६० प्रतिशतभन्दा बढी काम भएको आयोजनाका सूचना अधिकारी इश्वर कार्कीले बताए । उक्त निर्माण कम्पनीले २०७६ फागुन महिनासम्म काम सक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

त्यसैगरी काभ्रे जिल्लाको दोस्रो खण्ड भुम्लु गाउँपालिकाको पौवा डाँडा हुँदै फलाटे, कोलाती, चौरी देउराली गाउँपालिकाको पाटीगैह्रासम्म १८ किलो मिटर सडक अहिले ७० प्रतिशतभन्दा बढी प्रगति भइरहेको आयोजनाले जनाएको छ । त्यसैगरी काभ्रे जिल्लाकै तेस्रो खण्ड पाटीगैह्रा, बिर्ता, जखाडी, आरुबोट, दोभानटार, हुँदै कातिके देउरालीको बोक्सेसम्म २५ किलोमिटर मोटरबाटोे हालसम्म ९५ प्रतिशतभन्दा माथि प्रगति भएको छ ।

काभ्रे जिल्लाको मध्यपहाडी पुष्पलाल लोकमार्ग खण्डमा ग्राभेल स्टाण्डर्ड मोटरबाटो, बाटोको चौडा साँढे आठ मिटर, नाली, टेवा पर्खाल, कुलेसा, हिमपाइपको काम हुने आयोजनाले जनाएको छ । पछि उक्त मोटर बाटो साँढे सात मिटर कालोपत्रे पनि गरिने छ । मध्य पहाड क्षेत्रबाट बसाईं सराइ रोक्न, जनस्तरबाट उत्पादित कृषि उत्पादनलाई बजारसम्म पुर्याउन उक्त मोटरबाटोले सहयोग पुर्याउने छ ।

आफ्नै घरछेऊमा राजमार्ग स्तरको मोटरबाट आएपछि काभ्रे जिल्लाको वनदेउ, भुम्लुटार, फलाटे, कोलाती भुम्लु, विर्ता देउराली, गोठपानी, मादन कुडारी, कात्तिकेदेउरालीका स्थानीय जनता खुशी भएका छन् । काभ्रे कोशीपारीको तल्लो बेल्टबाट गएको लोकमार्गको लाभ काभ्रे कोशीपारीको माथिल्लो बेल्टका जनताले पनि लिन सक्नेछन् । सो लोकमार्ग मुलुकको पूर्व पश्चिमसम्म जोड्ने तेस्रो निर्माणाधिन सडक हो ।

१ हजार ७ सय ७६ किलोमिटर लम्बाईको सो राजमार्ग हुने भनिएको सो लोकमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिने बताइएको छ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्ने ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छोएर जाने बताइदै आएको छ ।

आर्थिक वर्ष ०६४–०६५मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । तश्वीरमा सो लोकमार्ग अन्तर्गत पर्ने बिर्ता देऊरालीका एक किसान बाख्रा चराएर घाँसको भारि बोकेर लोकमार्गको सडकमा हुँदै आफ्रनो घरतर्फ जाँदै ।

प्रतिक्रिया