काम नगर्ने ठेकदारको फोटो सार्वजनिक

दोलखा । काम नगर्ने ठेकेदारको फोटो सार्वजनिक स्थानमा र सवारीहरूमा टाँस्ने अभियान दोलखा सदरमुकाम चरिकोटमा पनि सुरु भएको छ ।

लामोसाँघु–चरिकोट खण्डको बिस्तारको काममा ठेकदारले लापरवाही गर्दा स्थानीयले सास्ती भोग्नुपरेपछि फोटो सार्वजनिक स्थानमा टाँस्न सुरु गरेका हुन् ।

खाडीचौर–चरिकोट सडकको विभिन्न खण्ड खाल्डाखुल्डी र हिलाम्मे हुँदा दैनिक सयौँ यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्दै आएका छन् । यो सडकको खाडीचौर– मुडे खण्डमा करिब १२ किलोमिटर पिचको काम भएपनि मुडे–चरिकोट खण्डको अवस्था जीर्ण छ । मुडे–चरिकोट खण्डको जिम्मा ठेकेदार कम्पनी सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले पाएको छ ।

यो सडक आयोजनका प्रमुख जिम्मेवार रहेका शंकर माली जेभीका प्रवन्ध निर्देशक दीपक सापकोटको तस्वीर अहिले सवारी साधनदेखि विभिन्न सार्वजनिक स्थानमा टाँस गरिएको छ । ठेकदारको नाम लेख्दै ‘तपार्इं मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ’ ‘कालोपत्रे कहिले हुन्छ ?’ भनेर प्रश्न गरेको व्यानर बनाएर बसमा तथा चरिकोट चोकलगायत बजार वरपर टाँसेका छन् ।

सडक बिग्रेका कारण जिल्लामा अत्यावश्यक सामग्री खाद्यान्न, औषधि, इन्धनलगायत आपूर्तिमा समस्या पर्दै आएको छ भने स्थानीय पर्यटन व्यवसाय समेत प्रभावित भएको छ ।

भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक बिस्तार गर्न ठेक्का लागेको ४ वर्ष बढी भइसकेको छ । ०७२ भदौमा खाडीचौर–मुडे खण्डको २५ किलोमिटर र मुडे–चरिकोट खण्डको ३० किलोमिटर सडक बिस्तारका लागि सम्झौता गरिएको थियो ।

दुई वर्षभित्र गर्नुपर्ने काम ४ वर्षमा पनि पूरा नभएपछि ठेकेकदारलाई सडक विभागले जरिवाना पनि तिराउँदै आएको छ । खाडीचौर–मुडे खण्डमा भने सिमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती जेभीले काम गर्दै आएको छ ।

प्रतिक्रिया