कमलाको पहिलो गीत ‘चिया छानेको’

काठमाडौं । लोकदोहोरी बालगायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लबमा एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतको क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, गीतकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतम लगायतले उक्त गीतको संयुक्तरूपमा विमोचन गरे ।

कार्यक्रममा पत्रकार धमलाले कमलाको प्रतिभा निकै राम्रो रहेकोले प्रतिक्रिया दिँदै उनको प्रतिभालाई सबैले सम्मान गर्नुपर्ने धारणा राखे । उनले भने, ‘बालगायिका कमलाको गलामा अद्भूत क्षमता छ । उनको सांगीतिक तथा शैक्षिक यात्रालाई तार्किक निष्कर्षमा पु¥याउनको लागि जीवनभरी साथ र सहयोग गर्ने वचनबद्धता जाहेर गर्न चाहन्छु ।’ धमलाले कमलाको पहिलो गीत अति नै राम्रो बनेको जिकिर गरे ।

उनले थपे, ‘कमलाको गीत सबैले रुचाउनुभएको छ, यसलाई माया गर्नुपर्छ । यो गीतलाई सबै नेपालीसम्म पु¥याउनका लागि मिडियाको सहयोग रहने विश्वास दिलाउँछु ।’ कमलाको अध्ययनको लागि धमला पत्नी एलिजा गौतमले वार्षिकरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोकदोहोरी क्षेत्रमा तहल्का मच्चिएको दाबी गरे । उनले कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रहसमेत गरे । उनले भने, ‘संगीतबाटै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरू खुल्नुपर्दछ । म पनि त्यही अभियानमा लागिरहेको छु ।’

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले गीतलाई रेकर्ड भएको २४ घण्टा नबित्दै बजारमा ल्याएको जनाए । उनले भने, ‘यो गीतलाई दर्शकले अत्यधिक मन पराइदिनुभएको छ । हामी निकै आभारी छौँ । युट्युव च्यालनलमार्फत उत्साहजनक प्रतिक्रिया आउँदा सिंगो टिम खुसी छ ।’

त्यस्तै, निर्देशक शंकर बिसीले आफूलाई उक्त गीत तयार पार्नको लागि चुनौती भएको सुनाए । बिसीले आफूले उक्त चुनौतीलाई सामना गरेर समयमै गीत तयार पारेको जिकिर गरे । उनले भने, ‘यो गीत तयार गर्न मलाई चुनौती थियो । २४ घण्टामा स्क्रिप्ट तयार पार्न गाह्रो हुन्छ । तर, मलाई तीन घण्टाभित्रै भिडियो गर्नु थियो । मैले सबै कलाकार समेटेर अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको छु । यसलाई सबैले माया गर्नुहुने विश्वास लिएको छु ।’

दोहोरी गीतबाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको ‘चिया छानेको’ को भिडियोसमेत सार्वजनिक गरिएको छ । शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बनेको उक्त गीतमा गायिका कमलालाई गायक अमृत सापकोटाले आवाजमा साथ दिएका छन् । गायक सापकोटाले नै कमलालाई मिडियामा ल्याएका थिए । उक्त गीतको भिडियोको छायांकन दुर्गा पौडेल र सुरेश श्रेष्ठ तथा सम्पादन विकास ज्ञवालीले गरेका छन् ।

प्रतिक्रिया