अर्थबजार

हराउँदै कोदोखेती

धु्रवसागर शर्मा २०७६ कार्तिक २७ गते १८:५४ मा प्रकाशित

म्याग्दी । धानको बियाँ, चामलको कनिका र कोदोको कपनी यी शब्दले खाद्यान्नको सानो रुपलाई जनाउँछन् तर पछिल्लो पुस्ताका बालबालिकालाई यी शब्द नै नौलो लाग्न थालेका छन् । कतिपय बालबालिकालाई त धान फलेर (कुटेर) चामल निकालिन्छ भन्ने कुरा नै थाहा छैन । उनीहरूले सोध्ने गर्छन् चामलको बोट कस्तो हुन्छ ? दिनहुँ भात खाने चामलका बारेमा त थाहा नहुने आजको पुस्तालाई कहिल्यै पनि नखाएको कोदोका बारेमा के थाहा होस् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कका लागिसमेत दुर्लभजस्तै बन्दै गएको छ ।

कोदो फल्ने बारी थलिएको छ । वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–३ भकिम्लीका दधिराम थापाले बताए । करीब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए । काम गर्ने जनशक्ति नहुनु र खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् । बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय वेदप्रसाद शर्माको घरमा पनि काम गर्ने मान्छे छैनन् । उनको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन् । छोराले बेनी बजारमा व्यापार र बुहारीले घरमा नै पसल गर्नुहुन्छ । वर्षौं पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेँडा पनि छैन ।

कोदो फलाउने रहर भएर पनि बूढेसकालका खेती गर्न नसकेको उहाँले बताउनुभयो । अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ । औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भवीराज विकले बताए ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पीठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताए । गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलले भने कोदोका परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् ।

होटेलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीमा रहेको होटल यतिका सञ्चालिका विमला गौचनले बताए । त्यसैगरी गाउँगाउँमा सञ्चालित घरवासमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिरा बरामद गरेर नष्ट गर्दै आएको बताए ।

कोदोमा प्रसस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने ज्यामरुककोट स्वास्थ्यचौकीका चिकित्सक खगराज निउरेले बताए । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनकोे भनाइ छ । म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये ५०० हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

प्रतिक्रिया