कोसीपारिमा प्रदेश–३ कै पहिलो अस्पताल

काभ्रे । सोमबार काभ्रेको कोसीपारी पुग्दा यस्तो दृश्य देखिन्थ्यो । मानिसहरूको लस्कर, अगाडि पञ्चेबाजा सहितको नाचगान, झ्वाट्ट भीड हेर्दा लाग्छ कसैको धुमधाम विवाह समारोह हुँदै छ ! भीडमा एक जनाको मालाले नै अनुहार छोपिएको थियो ।

उनका नजिकैका सुरक्षाकर्मीले बढी भएको माला वेलावेलामा झिकिरहेका थिए । मालामा पुरिएका व्यक्ति थिए प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलाल । दृश्यमा हजारौँ स्थानीयहरूको लस्कर र उनीहरूको मुहारमा देखिएको खुसीको त झन् कुनै सीमा नै थिएन । प्रभा मावि, सरस्वती मावि र जागृती मावि सहितका अरू प्रावि तहका विद्यार्थीहरू लामबद्ध थिए । यो दृश्य थियो अस्पताल भवन बनाउन राखिएको शिलान्यास कार्यक्रमको ।

काभ्रेको विकट मानिँदै आएको कोसीपारिको चौँरीदेउराली गाउँपालिकामा अस्पताल बन्ने भएको छ । गाउँपालिकाको केन्द्र नजिकै रहेको वडा–५ भालचौरमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । सोमबार प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख अतिथ्यतामा अस्पताल बनाउन भवनको शिलान्यास गरिएको हो । प्रदेश–३ को एक स्थानीयतह एक÷एक अस्पताल अवधारणाअनुसार निर्माण हुन लागेको सो अस्पताल प्रदेश–३ कै पहिलो अस्पताल हुने दुलालले कार्यक्रममा बताए ।

प्रदेश सरकारको भ्याटसहित ४ करोड ६६ लाखमा निर्माणका लागि सबै प्रक्रिया पूरा गरिसकेको र आगामी दुई वर्षभित्र अस्पताल बनिसक्ने प्रदेश–३ का सांसद रत्न ढकालले बताए । उनले प्रदेश सरकार स्थानीय सरकार र केन्द्र सरकारले आपसी विकास र समृद्धिको लागि योजनाबद्ध तरिकाले विषयगत हिसाबले काम गरिरहेको र केही समय त्यसको परिणाम आउन समय लाग्ने उनले बताए ।

उनले लामो समयसम्म पनि विकासमा पछिपरेको गाउँमा बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वाथ्य, कृषि र पशुपालन लगायतका विषयहरूमा बृहत्तर विकास गर्न तीनै तह सक्रिय भएर लागिरहेको बताए । उनले सन्तुलित विकासको लागि संघीयताको मूलमर्मअनुसार काम गरिरहेको र यसमा तेरो मेरो वा पार्टीको कुरा नहुने र सबैले साथ दिनुपर्ने तर्क गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले गाउँपालिकाले पानीको अभाव भएकैले एक घर एक धाराको नीति प्रमुख प्राथमिकतामा राखी काम अगाडि बढाएको बताए । गौतमले चार वर्षमा ३८ करोडको लिफ्टिङमार्फत खानेपानी तोकिएको मितिमै सम्पन्न गरिसक्नुपर्ने चुनौती रहेको बताए । उनले पछिल्लो समय योजनाहरू राम्रा बनेको तर कनिके बजेटले त्यस्ता योजना सम्पन्न गर्ने समय लाग्ने बताए ।

उनले अहिले बन्न लागेको अस्पताल बारे डा. नियुक्तीको काम भइसकेको र अस्पताल समयमा नै निर्माण गरी सेवा दिनेमा आफू कुनै कसुर पनि बाँकी नराखी काम गर्नेतर्फ र गराउनेमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जानाए । उनले अस्पताल निर्माणका लागि जग्गा दान गर्ने २२ जना युवाहरूको समूह रहेको र उनीहरूले दान गरेको १६ रोपनी र बाँकी पाँच रोपनी गरी २१ रोपनी जग्गामा सो अस्पताल बन्न लागिएको बताएका छन् । उनले अस्पताल निर्माणको जिम्मा धुलिखेल निर्माण सेवाले पाएको पनि बताएका छन् ।

कार्यक्रममा निर्माण व्यवसायी संघ प्रदेशका टंक चौलागाँईले यो अस्पताल समयमा नै बनाउन जस्तोसुकै चुनौतीको पनि सामना गर्न आफूहरू तयार रहेको र समयमा नै अस्पतालको भवन निर्माण गरिछाड्नेतर्फ सबै निर्माणकर्ताहरू लागि पर्न आग्रह गरे । गाउँपालिकामा केही समयअघि मात्रै प्रदेश सरकारकै लगानीमा भ्यु टावरको निर्माण, खेलमैदानको निर्माण, र खानेपानीको कामसमेत हुँदै आएको छ ।

प्रतिक्रिया