विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण

मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–८ महाङ्कालस्थित जनज्योति आधारभूत विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । अन्तरराष्ट्रिय दातृ निकाय लिसा हिमालय इभी, जर्मनी र दिगो विकासका लागि एकता (युएसडी) नेपालको संयुक्त पहलमा निर्मित भवन युएसडी नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले विद्यालयका अध्यक्ष जयबहादुर तितुङलाई हस्तान्तरण गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले विकट भूगोलमा आएर लिसा हिमालय र युएसडी नेपालले गरेको भौतिक पूर्वाधार तथा स्वास्थ्य र शिक्षामा गरेको लगानीको प्रशंसा गरे । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरकारले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरेकोमा धन्यवाद दिए ।

लिसा हिमालय इभीको सहयोगमा विकासका लागि एकता नेपालले पाँचकोठे विद्यालय भवन र दुईकोठे शौचालयसहितको भवन निर्माण गरेको हो । संस्थाका अनुसार भवनमा डेक्स, बेन्च र शिशु स्याहार केन्द्रका लागि आवश्यक पूर्वाधार र शौचालयसहित व्यवस्थापन गरिएको छ । विद्यालय भवन र शौचालयका लागि कूल रु ९७ लाख ९९ हजार ३८ खर्च भएको लिसा हिमालयका नेपालका प्रतिनिधि अन्जनप्रसाद पौडेलले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर तितुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राक्सिराङका वडाध्यक्ष रामकृष्ण प्रजा, रामकुमार थिङ, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने, नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तान, साबिक काँकडा गाविसका पूर्वअध्यक्ष होमबहादुर तितुङ लगायतले विद्यालय र शिक्षाको विविध पक्षमाथि प्रकाश पारे ।

‘आमाबुबा बचाऊ कार्यक्रम’ लागू

राक्सिराङ गाउँपालिकाले ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्योपचारको व्यवस्था गर्ने सम्बन्धी आज सम्झौता गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा २०७६ सालदेखि २०७८ सालसम्म ‘आमाबुबा बचाऊ कार्यक्रम’ सञ्चालन गरी ज्येष्ठ नागरिकको स्वास्थ्योपचारमा ध्यान दिन लागिएको हो ।

यसका लागि घरदैलोमै पुगी इन्टरनेटका माध्यमबाट ज्येष्ठ नागरिक, असहाय र दीर्घरोगीको उपचार गरिने गरी प्रतिष्ठानसँग सम्झौता भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र प्रतिष्ठानका प्राध्यापक डाक्टर पारस आचार्यले हस्ताक्षर गरेका छन् । ‘आमाबुबा बचाऊ कार्यक्रम’ अनुसार राक्सिराङ गाउँपालिकाभित्र दीर्घरोग पालेर बसिरहेका बिरामीको विशेष निगरानी हुनेछ ।

गाउँपालिकामा खटिएका स्वास्थ्य प्राविधिकले दीर्घ रोगी, असहाय तथा ज्येष्ठ नागरिकको घरमै पुगी इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग भिडियो च्याटिङ गरी स्वास्थ्योपचार र परामर्श लिइने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘क्यान्सरजस्ता प्राणघातक रोग सहेर गाउँमै बसिरहेका बुबाआमाको बाँकी जीवन सहज पार्ने गरी ‘आमाबुबा बचाऊ कार्यक्रम’ को अवधारणा ल्याएका हौँ’, अध्यक्ष मल्लले भने ।

अध्यक्ष मल्लका अनुसार ‘आमाबुबा बचाऊ कार्यक्रम’ कार्यान्वयनका लागि गाउँपालिकामा छुट्टै शाखा स्थापना हुनेछ । शाखामा मोटरसाइकल, ल्यापटप र इन्टरनेट डिभाइससहितका हेल्थ असिस्टेन्ट र अनमीसहितका तीन कर्मचारी हुनेछन् । ती कर्मचारीले रोगीको घरमा गएर इन्टरनेटको माध्यमबाट प्रतिष्ठानका डाक्टरसँग सिधा कुरा गर्छन् र उपचारको व्यवस्था मिलाउँछन् । थप उपचार गर्नुपरेमा गाउँपालिकाले एम्बुलेन्सको सहायताले प्रतिष्ठानमै रिफर गर्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष मल्ल बताए ।

‘आमाबुबा बचाऊ कार्यक्रम’ले राक्सिराङ गाउँपालिकाका ज्येष्ठ नागरिकलाई बढी राहत मिल्ने गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कापरीले बताए । साविकका सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविक गाविसतर्फ एक–एक वटा स्वास्थ्यचौकी रहेका छन् ।

अधिकांश चेपाङ, तामाङ र दलित समुदायको बसोबास रहेको गाउँपालिकामा भरपर्दो स्वास्थ्य केन्द्रको अभावमा स्वास्थ्य सेवाका लागि मनहरी, हेटौँडा र भरतपुरसम्म धाउनुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रतिक्रिया