‘हाउसफुल–४’ को कमाइ दुई सय करोड

मुम्बई । बलिउड अभिनेता अक्षयकुमार अभिनीत चलचित्र ‘हाउसफुल–४’ को कमाइ दुई सय करोड भारु नजिक पुगेको छ । २५ अक्टुबरमा रिलिज भएको यस चलचित्रले राम्रो कमाइ गरिरहेको चलचित्र समीक्षकले जनाएका छन् ।

रिलिजको तेस्रो सातासम्म यसले १९४.४८ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस चलचित्रले प्रदर्शनको पहिलो साता १३५.८६ करोड भारु तथा दोस्रो साता ४८.७५ करोड भारु कमाएको थियो ।

यस्तै, रिलिजको तेस्रो साताको शुक्रबार यस चलचित्रले २ तथा शनिबार २.७५ करोड भारु कमाएको छ । भारतीय चलचित्र समीक्षकका अनुसार यसले यो साताको अन्त्यसम्म दुई सय करोड भारुको आँकडा पार गर्ने अनुमान गरेका छन् । यसअघिका यस चलचित्रका तिनवटै सिक्वेल निकै सफल भएकाले ‘हाउसफुल ४’ निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । फर्हाद सम्जीको निर्देशनमा तयार भएको यो चलचित्रलाई सजिद नाडियवालाले निर्माण गरेका हुन् । यो चलचित्र निर्माणमा फक्स स्टार स्टुडियोले सहकार्य गरेको छ ।

चलचित्रमा अभिनेता अक्षय कुमारसँगै रितेश देशमुख, बबी देवल, कृती सेनन, पूजा हेगडे, चंकी पाण्डे, कृति खरबन्दालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया