‘कर्णाली उज्यालो बनाएरै छाड्छौँ’

सल्यान । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशलाई उज्यालो बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताएका हुन् ।

कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । ‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युत्को पहँुचबाट बाहिर रहेका छन् । सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुनुपर्दैन’, मन्त्री पुनले भने । अहिले कर्णालीका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको जानकारी दिए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कर्णाली प्रदेशभित्रका नदीनालाबाट पनि बहुउद्देश्यीय आयोजना निर्माण गर्नसक्ने सम्भावना रहेकाले त्यस्ता योजनाको अध्ययन गरिने बताए । ‘सल्यानकै कालीमाटी गाउँपालिकामा–९३ मेगावाटको जलाशययुक्त विद्युत् निर्माणका लागि अध्ययन भइसकेको छ, गाउँपालिकाको असहयोगका कारण प्रतिवेदनसमेत बुझ्न सकिएको छैन,’ मन्त्री पुनले भने । ‘विद्युतीकरणमा विगतका वर्षमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो अवस्था आउने वातावरण सिर्जना नगर्नुस् आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन गर्नुस्’, पुनले भने ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशले विद्युतीकरणलाई पहिलो प्राथमिकता दिएको जानकारी दिए । ‘कर्णालीका धेरै बस्ती विकट छन्् त्यहाँ विद्युतीकरण गर्न सजिलो छैन । तैपनि, हामी अबको दुई वर्षमा विद्युत् पु¥याएरै छोड्छौँ,’ मन्त्री ज्वालाले भने । विद्युत् पुगेपछि अन्य धेरै सम्भावनाका ढोका खुल्ने भएकाले प्रदेश सरकारले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिए । कर्णाली प्रदेशमा विद्युतीकरणका लागि विद्युत् प्राधिकरणको प्रदेशस्तरीय कार्यालयको स्थापना गरिसकेको भन्दै मन्त्री ज्वालाले प्रदेशभित्र पनि सम्भावित जलविद्युत् आयोजनाको अध्ययन गरिने बताए ।

बुधबार संघीय सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जिल्लाको दार्मा गाउँपालिकामा बिजुलीको उद्घाटन गरेका थिए । योसँगै जिल्लाका १० वटै स्थानीय तहका केन्द्रसम्म विद्युत् पुगेको छ । सल्यानमा हालसम्म ३५ प्रतिशत नागरिक विद्युत्को पहँुचभित्र रहेको विद्युत् प्राधिकरण सल्यानका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया