छानो नहाल्दा विद्यालय गोठमा परिणत

मुगु । छायानाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको विद्यालय भवन निर्माण कार्य सुरु गरिएको दुई वर्ष बित्दा पनि छाना हालेको छैन । श्री नमुना आधारभूत विद्यालय लापुको निर्माणाधिन भवनको छानो नछाउँदा नयाँ भवन जीर्ण देखिनुका साथै गाईगोरु बस्ने गोठ भएको छ ।

विद्यालय भवन खुला भएकाले चौरमा चर्न गएका गाईगोरु विद्यालय भवनभित्र जाने बस्ने दिशा गर्ने गरेका छन् । जिल्ला शिक्षा समन्वय कार्यालयबाट दुई वर्षअघि १६ लाखमा भवन निर्माण गर्ने सम्झौता भए पनि विद्यालय पूरा हुन सकेको छैन । अहिले बिद्यालय वरिपरि झारपात उम्रिएको छ । विद्यालय भवनमा छाडा पशुबस्तुुु बस्ने गरेका छन् ।

बिद्यालय भवन निर्माण सम्पन्न नहुँदा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एकै कोठामा बसेर पढ्नु परेको विद्यार्थीले गुनासो गरेका छन् । भौगोलिक कठिनाई र सामन ढुवानीमा समस्या भएको र सामान ढुवानीको जिम्मा लिएकाले समयमै समान ढुवानी नगरिदिँदा बिद्यालय भवन तयार नभएको विद्यालयका प्रधानध्यापक कैलाश बढुवालले बताए ।

उनका अनुसार सामान तराईबाट ल्याउनुपर्ने भएकाले कहिले सडक बन्दको समस्या कहिले अन्य समस्याले सामान ढुवानी नुहुँदा विद्यालय भवन तयार नभएको बढुवालले बताए । सामान सदरमुकाम गमगढीमा आइपुगेकाले अबको एक महिनाभित्र विद्यालय निमार्णको कार्यसम्पन्न हुने प्रधानाध्यापक बढुवालको भनाइ छ ।

उक्त विद्यालय एक शिक्षकको भरमा सञ्चालित छ । कक्षा १ देखि ३ सम्म सञ्चालन भएको बिद्यालयमा एक जना शिक्षकले पठनपाठन गराउँदै आएका छन् । शिक्षक काम विशेषले सदरमुकामतिर आएमा विद्यालय बन्द गर्नुको विकल्प नभएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष रुपसिंह कामीले बताए । शिक्षक दरबन्दीका लागि धेरै ठाउँमा पहल गरेको भए पनि सुनुवाई नभएको अध्यक्ष कामीको गुनासो छ ।

०६१ सालमा स्थापना भएको विद्यालयमा शिक्षकलाई समुदायले राहत शिक्षकबाट तलब खुवाउँदै आएको भए पनि यो आवबाट छायानाथ रारा नगरपालिकाले उक्त शिक्षकलाई दरबन्दीमा राखेपछि समुदायलाई सहज भएको छ । ‘कक्षा १ देखि ३ सम्म ३५ विद्यार्थी छन । एक जना शिक्षकले पढाउनुपरेको छ । शिक्षक काम विशेषले बाहिर गए विद्यालय बन्द हुने र विद्यार्थी घरमै बस्ने गरेका छन्,’ अभिभाभक शेरे विकले बताए ।

नेता आश्वासन मात्र दिन्छन्
लापु गाउँमा २८ घर दलितको छ । यहाँ खासै जमिन नभएकाले रोजीरोटीका लागि यहाँका अधिकांश पुरुष धन कमाउन भारत जान्छन् । महिला पनि अरूको घरमा काम गरेर छाक टारिरहेका छन् । यस्तो विकराल समस्या देखिँदा पनि हामीलाई राज्यले दिने सेवा सुविधाबाट बेवास्ता गरेको स्थानीयको भनाइ छ ।

नेता पनि चुनावमा भोट माग्न आउँछन्, आश्वासन दिन्छन् जान्छन् । फर्केपछि बजारमा भेट्दा नमस्कार गर्दा नसुन्ने गरेका स्थानीय गोरा विकले बताए । गएको चुनावमा पनि नेता गाउँमा आएका र विद्यालयका लागि शिक्षकको दरबन्दी, खानेपानीलगायत विकासको व्यवस्था गर्ने प्रतिवद्धता गरेका भए पनि अहिलेसम्म कसैले फर्केर पनि नहरेको उनको भनाइ छ ।

एसइई गर्ने तीन जना मात्र
विद्यालयको सहज पुहुँच नहुँदा लापु गाउँमा तीन जनाले मात्र एसइइ गरेका छन् । सुरुमा विद्यालयको सहज पहुँच नहुँदा यस्तो समस्या आएको हो । ‘गाउँमा विद्यालय थिएन विद्यालय जान घन्टाँै हिँड्नुपर्ने समस्याले विद्यालय जान पाइएन । ०६१ सालमा गाउँमा विद्यालय स्थापनापछि लापु गाउँमा तीन जनाले मात्र एसइई गरेका छन् । अरू सबै अनपढ तथा बेरोजगर भएर अरूको काम गर्न जाने, कोही भारततिर धन कमाउन जान्छन्,’ स्थानीय मकर विकले बताए ।

एसइई गरेका ती तीन जना पनि बेरोजगार छन् । त्यति मात्र होइन लापु गाउँमा कुनै पनि व्यक्तिको रोजगार छैन सबै जना बेरोजगार छन् । त्यहि भएर पनि दलित सोझासाझालाई आशा मात्र दिने र पछि फर्केर नर्हेने गरेका स्थानीयको भनाइ छ ।

प्रतिक्रिया