खारेज गरिँदै दुइ माजु सम्झौता

काठमाडौँ । ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र दुइ माजु मन्दिर परिसरको सम्झौता खारेज हुने भएको छ । सो परिसर सरसफाइ गर्ने जिम्मेवारी पाएकी गोरखा तान्द्राङकी अमृता भट्टराईले सम्झौता खारेज गर्न गत साता गुठी संस्थानमा निवदेन दर्ता गराएसँगै संस्थानले खारेज गर्ने प्रक्रियाअघि बढाएको हो ।

भट्टराईले कार्यव्यस्ताले गर्दा सम्झौता कार्यन्वयन गर्न नसकेको निवेदनमा उल्लेख गरेकी छन् । भक्तजन पूजा गर्न आउने ठाउँ कब्जा गरेको भन्दै सबत्र अलोचना भइरहेको छ । त्यससँगै गत चैतमा यहाँका पसल सञ्चालक आफैँले हटाए । हटाएको ६ महिना नबित्दै फेरि सोहि ठाउँमा पसल सञ्चालन भएपछि सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासीले विरोध गरे । धार्मिक महत्वको क्षेत्र कब्जा भएको भन्दै बुधबार काठमाडाैं महानगरपालिकाकी उपमेयर अनुगमन साथै गुठीसंस्थानसमेत गएकी थिइन् ।

सोहीक्रममा गुठी संस्थानका प्रशासक नारायण चौधरीले प्रक्रिया प¥ुयाएर खारेज गर्ने जानकारी दिएका हुन् । अमृताले गुठी संस्थान काठमाडौं कार्यलयसँग सम्झौता गरेकी थिइन् । उनले खारेजीको लागि निवेदन पनि कालमोचन घाटस्थित संस्थानको काठमाडौं कार्यालयमा दिएकी थिइन् । गुठी संस्थान काठमाडौंका प्रमुख शैलेन्द पौडेलले सम्झौता खारेज गर्न केन्द्रलाई सिफारिस गरिसकेको बताएका छन् ।

काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै यो क्षेत्र कब्जामा परेको थियो । गुठी संस्थानबाट अमृताले अनुमति लिएर अरूलाई पसल सञ्चालन गर्न दिएकी थिइन् । गोरखाका भीमसेन गाउँपालिका—२ तान्द्राङकी अमृता भट्टराइले व्यवसाय सञ्चालन गर्न संस्थानसँग ५ वर्षका लागि भाडामा लिएकी थिइन् ।

सफाइको लागि आम्दानी पनि होस् भनेर कतै पसल राख्नुस् भनेका हौँ । चौधरी भने, ‘यसरी आफूले लिएर अरूलाई सञ्चालन गर्न देऊ भनेकै थिएन ।’ चौधरीले अमृतलाई नियमअनुसार नै सञ्चालन गर्न दिएको दाबी गरे । ‘त्यो गुठीको स्वामित्वको जग्गा हो । नियमसंगत तरिकाले नै चलाउन दिएको हो । ऐतिहासिक मन्दिर हो । यस्तो क्षेत्रमा व्यापार गर्नका लागि होइन । यसलाई तत्काल हटाउनुपर्छ । उपप्र्रमुख हरिप्रभा खड्गीले दुइ माजु परिसरको जिम्मेवारी महानगरले लिने बताएकी छिन् । सफा गर्छु भनेर कब्जा गर्न नमिल्ने बताएकी छिन् ।

खारेज गर्न दबाब दिँदै सम्पदा संरक्षण अभियन्ताले दुइ माजु परिसरमा बुधबार बिहान धर्नासमेत दिएका थिए । सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘महत्वपूर्ण सम्पदा सरकारी निकायकै मिलेमतोमा कब्जामा प¥यो । त्यही भएर हामी दबाब दिन आएका हौँ । यस्ता मिचिएका हरेक ठाउँका सम्पदामा हामी दबाब सिर्जना गर्छांै । अब हाकाहाकी सम्पदा मिच्न हामी दिँदैनौँ ।’ महानगरको भवन निर्माण विभागले टहरा बनाउन अनुमति दिएको वडा महानगर वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले जानकारी दिए । अमृताले मरिण ठाकुर इन्टरनेसनलाई टहरा बनाउन ठेक्का दिएकी थिइन् । मरिण ठाकुरकै मातहत रहने गरी १७ जनलाई पसल सञ्चालन गर्न अनुमति दिएको पाइएको छ ।

मन्दिरसमेत भित्र पर्ने गरी यहाँ सटर निर्माण गरिएको छ । मन्दिरको वरिपरि खाट राखिएका छन् । प्रत्येक खाटमा एक जनाको पसल छ । भट्टराइले अरू ३२ जनालाई भाडामा दिएकी छन् । एक जनासँग कम्तीमा ५ हजार लिने गरेको पसल सञ्चालकहरूले बताएका छन् । सम्झौताकर्ताले नै सम्झौता रद्द गरिपाऊँ भनेपछि गुठीले तुरुन्त रद्द अभियान्ताको भनाइ थियो ।

दुइ माजु तलेजु भवानीको सारथीको रूपमा पूजाअर्चना हुने गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, टोखा, दोलखा, टिस्टुङ, पालुङजस्ता प्राचीन नेवार बस्ती भएका ठाउँमा तलेजु भवानी रहेका छन् । काठमाडौंको तलेजु भक्तपुरबाट ल्याएको इतिहास छ । रत्न मल्लको पालामा भक्तपुरबाट काठमाडौं तलेजु ल्याइएको थियो ।

प्रतिक्रिया