डिआरको ‘तिलस्मी’ चर्चा

इलाम । गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ को चर्चा गरिएको छ । पहिलो संस्करण प्रकाशन भएको पाँच महिनापछि नै दोस्रो संस्करण प्रकाशन भएको उक्त कृतिबारे लेखककै गृहजिल्लामा चर्चा गरिएको हो ।

कार्यक्रममा साहित्यकार डा. देवी क्षेत्री दुलाल र दिवाकर भण्डारीले उपन्यासले समाजका सकार र नकार पक्षलाई चित्रण गरेको बताए । पुस्तकमाथि चर्चा गर्दै उनीहरूले तिलस्मीले पाठकलाई सामाजिक, राजनीतिक र नैतिक सन्देश दिन उपन्यास सफल भएको जिकिर गरे । उनीहरूले गरिब र सम्भ्रान्त वर्गबीचको खाडललाई कलात्मक रूपमा पुस्तकमा उधिनिएको बताए । साहित्यकार डा. दुलालले उपन्यासमा चित्रित घटनाक्रमले समाज परिवर्तनको सुनौलो बिहानी ल्याएको उल्लेख गरे ।

उनले उपन्यासकारले समाज र राजनीतिबीचको अन्तरसम्बन्ध र त्यसका परिघटनालाई कृतिमा प्रस्तुत गरेको धारणा व्यक्त गरे । त्यस्तै, साहित्यकार भण्डारीले ‘तिलस्मी’ ले इच्छाशक्ति भए असम्भव केही छैन भन्दै हरक्षेत्रमा सफलताको सन्देश बोकेको बताए । उनले भने, ‘समाज परिवर्तनको विषयलाई समेत उपन्यासले कलात्मक रूपमा चर्चा गरेको छ ।’ उनले एउटा असल युवाले धनी र गरीबबीचको ठूलो खाडललाई तन, मन र धनले पुर्दै लगेर सम्याएको बताउँदै अन्तरजातीय विवाहको सम्बन्धले सम्भ्रान्त परिवारको परम्परावादी संस्कारलाई ‘तिलस्मी’ ले तोडेको जिकिर गरे ।

कार्यक्रममा इलाम नगरप्रमुख महेश बस्नेत, प्राज्ञ कोमल निरौला, नेपाल पत्रकार महासंघका संस्थापक सभापति धर्म गौतम, पत्रकार सोम सुसेली, लक्ष्मी मिश्रलगायतले मन्तव्य राखेका थिए ।

तीन सय २७ पृष्ठको उपन्यास सन्देशमूलक र सकारात्मक सोचलाई उजागर गर्ने उद्देश्यले सिर्जना गरिएको उपन्यासकार डिआरले बताए । उनले उपन्यासको कथावस्तु, पात्र र चरित्रका कारण बजारमा आइरहेका अन्य उपन्यासभन्दा केही फरक र पृथक लेख्ने प्रयास गरेको जिकिर गरे । उपन्यासमा सम्भ्रान्त र अति विपन्न वर्ग बीचको कथा समेटिएको छ । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासमा वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोहको भावना अभिव्यक्त गरिएको छ ।

२०५८ सालदेखि औपचारिक रूपमा गीत लेखनमा प्रवेश गरेका डिआरका पाँचवटा गीति एल्बम सार्वजनिक भइसकेका छन् । त्यस्तै, उनका तीनवटा पुस्तकसमेत प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया